काठमाडौं । नेपाली राष्ट्रिय टिमका पूर्वमिडफिल्डर सुजल श्रेष्ठ अस्ट्रेलिया गएका छन् । बिहीबार राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेका सुजल गएराती नै अस्ट्रेलिया उडेका हुन् ।
सुजलसँगै नेपाली टिमका डिफेन्डर रजीन धिमाल पनि अस्ट्रेलिया गएका छन् । पछिल्लो केही समययता नेपाली फुटबलरहरू अस्ट्रेलिया जाने क्रम निकै बढेको छ ।
नेपाली राष्ट्रिय टिमबाट ११ वर्ष खेलेका सुजलले यस अवधिमा ५१ अन्तर्राष्ट्रिय खेल खेले । सुजलले बिहीबार सन्यास घोषणाका लागि यो उपयुक्त समय भएको बताएका थिए ।
यस्तै, रजीनले सन् २०१४ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट १० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । शहिद स्मारक ‘ए’ डिभिजन लिगमा रजिन र सुजल दुवैजना मछिन्द्र फुटबल क्लबमा आबद्ध रहेका थिए ।