काठमाडौं । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ । गएराती भएको सेमिफाइनल खेलमा टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड फाइनलमा पुगेको हो ।
युनाइटेडका लागि एलेक्सिस सान्चेज र हरेराले गोल गरेका थिए भने टोटनह्यामका लागि डेल अलिले गोल गरेका थिए ।
टोटनह्यामले खेलको ११औ मिनेटमा अलिको गोलबाट अग्रता लिएपनि युनाइटेडले खेलमा उत्कृष्ट कमब्याक गरेको थियो ।
खेलको २४औ मिनेटमा सान्चेजले गोल गर्दै खेल बराबरी गरेका थिए । सान्चेजलाई पाउल पोग्वाले असिस्ट गरेका थिए ।
पहिलो हाफमा १-१ गोलको बराबरी भएको खेलमा खेलको दोस्रो हाफको ६२औ मिनेटमा रोमालु लुकाकुको पासमा निर्णायक गोल गर्दै हरेराले युनाइटेडलाई फाइनलमा पुर्याएका थिए ।
योसँगै युनाइटेड २०औ पटक एफए कपको फाइनलमा प्रवेश गरेको छ भने टोटनह्याम लगातार ८औ पटक एफए कपको सेमिफाइनलमा पराजित भएको छ ।
युनाइटेडले अब चेल्सी र साउथहम्पटनबीचको आज हुने खेलको विजेतासँग फाइनल खेल खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल मे १९ मा हुने छ ।