• २०८१ बैशाख १७ सोमबार

उदयपुरमा पाठ्यपुस्तक वितरणमा ढिलाइ

kharibot

उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भए पनि उदयपुरको सदरमुकाम गाईघाटलगायत पहाडी क्षेत्रका विद्यालयका विद्यार्थीले नयाँ शैक्षिक सत्रको सुरुमा समयमा पाठ्यपुस्तक प्राप्त गर्न सकेका छैनन्।

उदयपुरका लागि पुस्तक आइपुगेको थाहा भए पनि पुस्तक पसलसम्म नपुगेको अभिभावक तथा विद्यार्थीले जनाएका छन् । 

नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा भर्ना र पठनपाठन सुरु भए पनि अहिलेसम्म पुस्तक पसलमा पुस्तक किन्न जाँदा प्राप्त गर्न नसकिएको विद्यार्थी र अभिभावकले बताएका छन् ।

जिल्लाको मध्यपहाडी, पश्चिमी पहाडी र उत्तरी पहाडी क्षेत्रका विद्यालयका अभिभावक विद्यार्थीसहित नयाँ पाठ्यपुस्तक किन्न सदरमुकाम गाईघाट आए पनि पुस्तक पसलले अझै पाठ्यपुस्तक दिन नसकेको सम्बन्धित अभिभावक र विद्यार्थीको गुनासो छ ।

लिम्चुङबुङ गाउँपालिका–४ जनता मावि जाँतेका अभिभावक जीतबहादुर राई र ध्रुवकुमार बुढाथोकीले आफ्ना छोराछोरीका लागि पाठ्यपुस्तक लिन गाईघाट आए पनि पाठ्यपुस्तक प्राप्त गर्न अझै केही दिन कुर्नुपर्ने अवस्था आएकाबारे गुनासो गरे।

राई र बुढाथोकीले भन, “विद्यालयमा पठनपाठन र नयाँ भर्ना सुरु भएकाले नानीहरुका लागि कक्षा ५, ८ र ९ का पुस्तक किन्न गाईघाट आएका हौँ, तर पुस्तक पसलमा अझै पुस्तक आइनपुगेको र अझै केही दिन आउन लाग्ने भन्ने उत्तर पाएपछि आफूहरु रित्तै घर फर्कन बाध्य भएका हौँ ।”

यस्तै, त्रियुगा नगरपालिका–१४ साउनेका अभिभावक देवीकुमारी मगरको पनि उस्तै गुनासो छ । उनले भने, “यस पटक त समयमा नै पाठ्यपुस्तक आउँछ भन्ने कुरा सरकारबाट नै सुनेकी हुँ, तर कक्षा ७ मा पढ्ने छोरीका लागि किताब किन्न गाईघाट बजार आए, चार पुस्तक पसलमा गएर खोज्दा अझ प्राप्त गर्न केही दिन लाग्ने भनेपछि घर फर्कनुपरेको छ ।”

गाईघाटका एक अभिभावक विश्वराज खत्रीका अनुसार यस पटक सरकारले समयमा नै पाठ्यपुस्तक उपलब्ध हुन्छ भनेका कारण पनि आफूहरु दैनिक जसो बजारका पुस्तक पसलमा गएर किन्न खोजे पनि अझै प्राप्त गर्न नसकिएको खत्रीसहित अभिभावकको गुनासो छ ।

गाईघाटका अधिकांश पुस्तक पसलका सञ्चालक भने सम्बन्धित पुस्तक वितरण केन्द्रले वितरण गर्न ढिलाइ गरिरहेका कारण आफूहरुले समयमा नै पुस्तक खरिद गरेर विद्यार्थीको हातमा पुर्याउन नसकेको पुस्तक पसलका सञ्चालकले बताउने गरेका छन् ।

गाईघाटका जिके पुस्तक पसलका सञ्चालक तथा प्रोपाइटर किरण राई भन्छन्, “पाठ्यपुस्तक वितरण केन्द्र प्रदेश नं १ ले नै समयमा पुस्तक वितरणमा ढिलाइ गरिरहेका कारण आफूहरुले चाहेर पनि समयमा पुस्तक खरिद गरेर वितरण गर्न कठिनाइ भइरहेको छ ।”

श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहको पनि धारणा राईकै जस्तो छ । पुस्तक वितरण केन्द्रले अन्यत्र वितरण गरिरहेको र आफूहरुको जिल्लामा अहिले नै वितरण नगरेका कारण विद्यार्थीलाई पुस्तक बिक्री गर्न नसकिएको साहले बताए ।
गाईघाटसहित कटारी, बेल्टार, रामपुर ठोक्सिला बजार र पहाडी क्षेत्रका अधिकांश क्षेत्रका निजी तथा सरकारी विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थी भर्ना अभियान र पठनपाठन पनि सुरु भइसकेको छ ।
नयाँ शैक्षिक सत्र सुरुसँगै अहिले जिल्ला सदरमुकाम गाईघाटका पुस्तक पसलमा बिहान, दिउँसो र बेलुकी विद्यार्थी तथा अभिभावकको पुस्तक किन्नका लागि भीड नै लाग्ने गरेको छ ।

पहाडी क्षेत्रबाट समेत २४ घण्टा लगाएर अभिभावक तथा विद्यार्थी पाठ्यपुस्तक किन्न सदरमुकामका बजारका पुस्तक पसलमा आउने गरेका छन् ।

पुस्तक पसलले पाठ्यपुस्तक उपलब्ध गराउन नसकेपछि विद्यार्थी तथा अभिभावक निराश भएर घर फर्कनुपरेको विद्यार्थीका अभिभावक बताउँछन् ।

कटारी, गाईघाट र बेल्टार बजारसहित पूर्वको रामपुरका अधिकांश पुस्तक पसलका सञ्चालकले प्रदेश नं १ विराटनगरको पुस्तक वितरण केन्द्रको ढिलाइका कारण आफूहरुले अहिलेसम्म पनि पुस्तक खरिद गर्न समस्या हुँदा विद्यार्थीहरुको हातमा पाठ्यपुस्तक पु¥याउन नसकेको जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै