• २०८१ बैशाख १६ आइतबार

प्रहरी र लक्ष्मी बैंकबीच छात्रवृत्ति कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

kharibot

काठमाडौँ  । नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच आज ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले समझदारीपत्र आदानप्रदानसमेत गरे ।

समझदारीपत्रमा प्रहरी नायब महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकका तर्फबाट बैंकका प्रमुख रिटेल फाइनान्स सर्भिस विभागका दीपेश अमात्यले हस्ताक्षर गरेका छन् ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनाका साथै प्रहरीले प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदानप्रदान हुने अपेक्षा उनले व्यक्त गरे  ।  

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताए । 

उक्त कोषबाट नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर-शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्मचारीका सन्ततिहरूमध्ये उत्कृष्ट अङ्क प्राप्त गर्ने कम्तीमा दुईजना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत सहयोग उपलब्ध हुनेछ । 

छात्रवृत्ति प्रदानका लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषका नाममा ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’को स्थापनाबापत प्रत्येक वर्ष रु पाँच लाखका दरले कोषमा जम्मा २५ लाख उपलब्ध गराउनेछ । शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै