• २०८१ बैशाख २१ शुक्रबार

तरकारी खेतीबाटै करोडौँको मालिक

kharibot

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएक छन् ।  

लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट  सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ । दैनिक तीन÷चार क्विन्टल टमाटर बेचिरहेका उन को टमाटरले बजार पनि राम्रो पाएको छ ।

प्रतिकेजी ४० देखि ५०सम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक रु १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरेहका छन् ।  बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् ।

अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा रु १५-१६ लाख आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

बञ्जाडेले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे  तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।” 

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक छन् । सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन ।

महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै  वार्षिक लाखौँ रुपैयाँ कमाएका छन् । 

उनले भने, “गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् ।

सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गर्नुभएका उनलाई पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । 

तरकारीबाट वर्षमा १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाउनुभएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिएका छ । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए । 

 पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् ।

त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् । वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो ।

“अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,” पुष्करनाथले भने, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै