• २०८१ बैशाख १६ आइतबार

ओमानमा नेपाली महिला कामदारमाथि यौन दुर्व्यवहार, प्रहरीको सहयोगमा उद्दार  

kharibot

काठमाडौं ।  वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी एक महिलामाथि ५ युवाको समूहले यौन दुर्व्यवहार गरेको ओमान स्थित नेपाल दुतावासले जानकारी दिएको छ ।  

गत शुक्रबार ओमानको मावेला भन्ने स्थानमा ५ युवाको समूहले अमर्यादित कार्य गरेको र अमर्यादित गतिविधिपछि पोल खुल्ने डरले ती युवाहरुले मारेर फाल्ने योजना बनाइरहेको थाहा पाएपछि महिला बसिरहेकै कोठाको अट्याच वाथरुममा लुकी ज्यानको सुरक्षाका लागि मध्यरातमा ओमानको प्रहरीलाई खबर गरेर ज्यान बचाएको दुतावासले जनाएको छ । 

दूताबासका अनुसार बुटबलकी २९ वर्षीया ती महिला भारतको नयाँदिल्ली, युएई हुँदै  २०७३ माघ ३ मा ओमानको मस्कटमा घरेलु कामदारको रुपमा पुगेकी थिइन् ।  तर, स्पोन्सरले समयमा तलब नदिने, पेटभरी खान पनि नदिने, गाली गर्ने लगायत गर्न  थालेपछि उनी स्वच्छाले उक्त घर छाडी आजाद भन्ने एक बंगालीको विस्वासमा परेर अर्को कामको खोजीमा गत बैशाख १४ गते मावेला पुगेकी थिइन् । 

मावेलामा बंगालीले एक बन्दै गरेको घरको भूईतल्लामा रहेको कोठामा राखेको र त्यही शुक्रबार साँझ ५ जनाको  समूहले अमर्यादित गतिविधि गरेका हुन् । 

प्रहरीले यसबारे मस्कटस्थित नेपाली  दूताबासलाई आइतबार जानकारी गराएपछि मात्रै  घटना बाहिर आएको थियो ।  घटनाको जानकारी हुनासाथ दूताबासका द्धितिय सचिव रोजीना ताम्राकार र श्रम सहचारी कृष्णा कुमारी गौली पीडितको अवस्था बुझ्न प्रहरी हेडक्वार्टर पुगेको बताइएको छ । 

प्रहरीले अहिले पीडित महिलासहित ५ जनालाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएको दूताबासले जनाएको छ ।  दूताबासले पीडितलाई न्याय दिलाई नेपाल फर्काउन सक्रियताका साथ काम गरिरहेको पनि जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै