• २०८१ बैशाख १६ आइतबार

पूर्वाधार विकास समितिका आन्तरिक कार्यविधि पारित

kharibot

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

समितिको आजको बैठकले आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको सभापतित्व गरेका ज्येष्ठ सदस्य लालवीर चौधरीले जानकारी दिए ।

बैठकमा सांसदहरूले आर्थिक वर्षको अन्त्य भइसकेकाले विषयगत छलफललाई तीव्रता दिन माग गरेका थिए । सांसद शङ्कर भण्डारीले अलपत्र परेका विकासका आयोजनाका कारण खोजी गरी निष्कर्षमा पुग्नुपर्ने बताए ।

सडक, ठूला खानेपानी आयोजना लामो समयदेखि अलपत्र परेकाले समितिले सरोकार भएकासँग छलफल गरी आइपरेका समस्या समाधानका लागि पहल गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।

निर्माण व्यवसायीलाई ८० अर्ब दिन बाँकी छ भनी प्रचारप्रसार भइरहेकाले त्यस विषयमा समेत समितिले खोजी गरी सहजीकरण गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो ।

अदालतको ढिलासुस्तीले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनमा बाधा पुगेकाले यसतर्फ सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

बैठकमा सांसदहरू प्रतिमा गौतम, डा चन्द्रकान्त राउत, गोकर्णराज विष्ट, दयालबहादुर शाही, वसन्तकुमार नेम्वाङलगायतले कार्यक्षेत्रका विषयमा प्रवेश गरी छलफललाई तीव्रता दिन माग गरेका थिए ।

आन्तरिक कार्यविधिमै अल्झेर बस्दा बजेटमा छलफल गर्न ढिलाइ भएको उनिहरूको भनाइ थियो । 

सांसदहरूले वर्षौंअघि ठेक्का भएका पुलका काम अघि नबढेको भन्दै पर्यटकीय सहर पोखरा जाने तनहुँको सडकलगायतको काम छिटो गरिनुपर्नेमा उनिहरूले जोड दिएका थिए ।

समितिको आन्तरिक कार्यविधि पारित भएसँगै विषयगत छलफलमा जोड दिइने समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै