• २०८१ बैशाख १६ आइतबार

भारतीय दूतावासद्वारा लुम्बिनी योग कार्यक्रम

kharibot

काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतीय राजदूतावास, काठमाडौँले नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र पतञ्जलि योगपीठ नेपालसँगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको गुम्बाक्षेत्रमा एक सार्वजनिक योग कार्यक्रम आयोजना गरेको छ ।

युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी भगवान् बुद्धको जन्मस्थल हो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका सदस्य र सो क्षेत्रका तीन सयभन्दा बढी योग पारखीको सो कार्यक्रममा उपस्थिति रहेको दूतावासले जनाएको छ ।

कार्यक्रममा मन्त्री किरातीले भारतीय उपमहाद्वीपबाट प्रारम्भ भएको तथा सिन्धु घाँटी सभ्यतासँग जोडिएको योग आज संसारभर नै लोकप्रिय हुँदै गइरहेको बताए ।

मन्त्री किरातीले कौटिल्य शास्त्रमा पनि भारत–नेपाल सम्बन्धबारे उल्लेख गरिएको बताए । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घले हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको बताए । पछिल्ला केही वर्षमा योगका अनुयायीको सङ्ख्या विश्वभर नै बढेर गएको छ । योगको प्राचीन दर्शन र अभ्यासको सान्दर्भिकता आज पनि उत्तिकै छ ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको नारा ‘वसुधैव कुटुम्बकमका लागि योग’ अर्थात् ‘एक विश्व एक परिवार सबैको कल्याणका लागि योग’ रहेको छ । यो नाराले योगको विश्वव्यापी आकर्षण र मर्मलाई प्रतिविम्बित गर्दछ।

भारतीय राजदूतावासले हरेक वर्ष नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोषसँग सहकार्य गरी अन्तर्राष्ट्रिय योग दिवस लुम्बिनीमा मनाउने राजदूत श्रीवास्तवले बताए ।

यो कार्यक्रम जारी ‘इण्डिया आजादीका अमृत महोत्सव’ अन्तर्गतको उत्सव कार्यक्रममध्येको एक हो ।

सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभामा एक सय ७५ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात् सन् २०१५ यता हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै