• २०८१ बैशाख १६ आइतबार

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने

kharibot

काठमाडौ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ ।

प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए । 

प्रदर्शनीमा प्रज्ञाले २०३० देखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिनेछ । रु तीनदेखि रु तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिने जनाइएको छ ।  

प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवम् अति उपयोगी पुस्तक एवम् पत्रपत्रिका समावेश गरिनेछ ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशलगायतको बिक्रीमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रतिष्ठानबाट  प्रकाशन सुरु भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिनेछ । 

माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि प्रज्ञा नेपाली बृहत् शब्दकोशको रु तीन हजार तीन सय ३५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । यसअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीका अवसर पारेर पुस महिनामा, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेको जनाइएको छ । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने र दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने अपेक्षा गरिएको व्यवस्थापक ढुङ्गेलले बताए । 

हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइएको छ । प्रदर्शनीको मुख्य उद्देश्य पठन संस्कृतिको विकास गर्नु रहेको जनाइएको छ । प्रदर्शनीको शुक्रबार बिहान कुलपति भुपाल राईले शुभारम्भ गर्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै