• २०८१ बैशाख १७ सोमबार

अजित आगरकर बने भारतीय क्रिकेटको मुख्य चयनकर्ता

kharibot

काठमाडौँ । भारतीय क्रिकेट टिमको नयाँ मुख्य चयनकर्तामा अजित आगरकर नियुक्त भएका छन् ।

उनले चेतन शर्माको स्थानमा यो जिम्मेवारी सम्हाल्नेछन् । अजित आगरकरलाई मुख्य चयनकर्ता बनाउने अड्कलबाजी लामो समयदेखि भइरहेको थियो र अहिले यसको पुष्टि भएको छ । स्टिङ अपरेसनमा फसेपछि भारतीय क्रिकेट छनोट समितिका पूर्व अध्यक्ष चेतन शर्माले आफ्नो पदबाट राजीनामा दिएका थिए । त्यसपछि यो पद रिक्त थियो । अब यो जिम्मेवारी अजित आगरकरलाई दिइएको छ ।

अजित आगरकरले केही दिनअघि आईपीएलको टोली दिल्ली क्यापिटल्सबाट राजीनामा दिएका थिए । त्यसपछि उनी भारतीय क्रिकेट टोलीको नयाँ मुख्य चयनकर्ता हुने लगभग निश्चित थियो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एक विज्ञापन मार्फत चयन समितिमा रिक्त पदका लागि आवेदन मागेको थियो । यस समयमा अजित आगरकरले आवेदन दिएका थिए र त्यसपछि उनी पद भर्नका लागि बलियो दावेदार मानिएका थिए । 

भारतका पूर्व अलराउन्डर अजित आगरकरले ११० फर्स्ट क्लास, २७० लिस्ट ए र ६२ टी-२० खेल खेलेका छन् । योसँगै उनले देशका लागि २६ टेस्ट, १९१ एकदिवसीय र चार टी–२० खेल खेलेका छन् । उनी सन् २००७ मा पहिलो टी-२० विश्वकप जित्ने भारतीय टोलीका सदस्य थिए । 

अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि, उनी सिनियर मुम्बई टोलीको मुख्य चयनकर्ताको रूपमा नियुक्त भए र दिल्ली क्यापिटल्समा प्रशिक्षकको जिम्मेवारी लिएका थिए । क्रिकेट सल्लाहकार समितिले वरिष्ठता (टेस्ट म्याचको कुल संख्या) को आधारमा पुरुष छनोट समितिको अध्यक्षको भूमिकाका लागि अग्रकरको नाम सिफारिस गरेको थियो ।

पुरुष क्रिकेट छनोट समितिमा आगरकर अध्यक्षसहित शिव सुन्दर दास, सुब्रतो बनर्जी, सलिल अंकोला, श्रीधरन शरथ सदस्य रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै