• २०८१ बैशाख ३१ सोमबार

युनिसेफका लागि नेपाल प्रतिनिधिमा अकुङ्गा नियुक्त

kharibot

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले नेपालका लागि नयाँ देशीय प्रतिनिधिमा केन्याली नागरिक एलिस अकुङ्गालाई नियुक्त गरेको छ । 

नवनियुक्त प्रतिनिधि अकुङ्गाले आज परराष्ट्रमन्त्री एनपी साउदसमक्ष उनको कार्यकक्षमा आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छिन् । 

अकुङ्गासँग बालबालिकाको सेवाको क्षेत्रमा केन्या, मलावी, नाइजेरिया, स्वाटिनी, माल्दिभ्स र अफ्गानिस्तानमा गरी दुई दशकभन्दा लामो काम गरेको अनुभव छ । आफ्ना कामका क्रममा अकुङ्गाले विशेषगरी उच्च जोखिमको समयमा बालबालिकाको संरक्षण र अधिकारका लागि निरन्तर पैरवी गर्दै आएकी छिन् । 

उनले दुर्गम र कठिन क्षेत्रमा जीवन रक्षाका लागि आवश्यक मानवीय सहयोगहरू पुर्याउने युनिसेफको प्रयासको संयोजन र कार्यान्वयनमा उल्लेख्य भूमिका निर्वाह गरेकी छिन् । 

ती प्रयासमा विद्यमान द्वन्द्व र कोभिड–१९ महामारीका चुनौतीहरूबीच अन्य क्षेत्र सँगसँगै स्वास्थ्य सेवा, शिक्षा, पोषण, खानेपानी तथा सरसफाइ एवं संरक्षणका क्षेत्रमा बालबालिकाका जरुरी आवश्यकता सम्बोधन भएको सुनिश्चित गर्ने कामसमेत पर्दछ ।

उनीसँग बालबालिकाको संरक्षण र उनीहरूको स्थितिमा सुधारका लागि बालमैत्री शासन व्यवस्थाको प्रवर्द्धन, प्रणालीगत सवलीकरण साथै दीगो जलवायु परिवर्तन प्रतिकार्य जस्ता काममा सरकार र अन्य साझेदारसँग हातेमालो गरी काम गरेको अनुभवसमेत रहेको युनिसेफ नेपालले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै