• २०८१ बैशाख २० बिहीबार

विसं २०८१ को पात्रो प्रकाशन गर्नेले साउनभित्र विवरण पेस गर्नुपर्ने

kharibot

काठमाडौँ ।  विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहने पञ्चाङ्गकारलाई साउन मसान्तभित्रै त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । 

पञ्चाङ्गकारलाई सूर्यसिद्धान्तको मूल सूत्रबाट ग्रहस्पष्टीकरण, ग्रहको उदय–अस्त, चाडपर्व, विवाह तथा व्रतबन्धका मुहूर्त र ग्रहण आदि विषय समावेश भएको पञ्चाङ्ग गणना गरी पेस गर्न समितिले सार्वजनिक सूचनामार्फत् अनुरोध गरेको हो । 

आवश्यक दस्तुर पनि साउन मसान्तभित्र समितिको कार्यालय नारायणहिटीमा बुझाउनुपर्ने गरी सूचित गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते गरेको समिति गठन आदेशको स्वीकृति बमोजिम यो सूचना प्रकाशन गरिएको हो । गठन आदेश बमोजिम समितिको स्वीकृति बिना पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेण्डर) प्रकाशन गर्न पाइँदैन । स्वीकृति बिना प्रकाशन गरिएका पात्रो प्रकाशनलाई नियमबमोजिम आवश्यक कारबाही गरिने पनि उनले बताए । 

नयाँ पञ्चाङ्गकारको हकमा आफैँले गणना गरेको कम्तीमा तीन वर्षको पञ्चाङ्ग गणनाको गणित र विसं २०८१ को गणनाको सबै आधार एवं गणित पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

म्याद नाघी आएका र अङ्ग नपुगेका पञ्चाङ्गलाई स्वीकृति प्रदान नगरिने समितिले जनाएको छ । भित्तेपात्रो प्रकाशन गर्न चाहने व्यक्ति वा संस्थाले पनि समितिको स्वीकृति लिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । यससम्बन्धी जानकारी समितिको वेबसाइटबाट पनि लिन सकिने जनाइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै