• २०८१ बैशाख १७ सोमबार

६ वर्षमा पनि बेनन मलेरिया नदीको पुल 

kharibot

वेदकोट । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मलेरिया नदीमाथिको पक्की पुल निर्माणको काम कछुवा गतिमा भइरहेको छ । गौरीशङ्कर सामुदायिक वन नजिक मलेरिया नदीमा निर्माणाधीन पुलको काम ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन ।

पुल निर्माणमा ढिलाइ हुँदा सास्ती भोग्नुपरेको स्थानीयवासीको भनाइ छ । “योसँगै निर्माण सुरु भएका अन्य पुल निर्माण सम्पन्न भइसकेका छन्, यो पुल अझै निर्माण भएको छैन”, स्थानीय उमादेवी भट्टले भने, “पुल निर्माणमा ढिलाइ हुँदा आवतजावतमा सास्ती भोग्नुपरेको छ ।”

बर्सातमा उर्लेर आउने नदी वारपार गर्न समस्या हुने गरेको दोधारा चाँदनी–१ की पार्वतीकुमारी भट्टले बताए । “बर्सातमा नदी धेरै आउँछ, समयमै पुल नबन्दा आवतजावत गर्नै कठिन हुने गरेको छ”, उनले भने, “चाँडो पुल निर्माण भए सहज हुने थियो ।”

ठेकेदारको लापरवाहीले पुल निर्माणको काममा ढिलाइ भइरहेको उनको भनाइ छ । मलेरिया नदीको पुल निर्माणका लागि पाँचपटक म्याद थप भएको छ । रु चार करोड ६१ लाख ३४ हजारमा पुल निर्माणको जिम्मा शङ्करमाली अकेला जेभीले पाएको थियो ।

विसं २०७४ साल वैशाख १४ गते सम्झौता भएको पुल निर्माणको काम विसं २०७५ कात्तिक १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । त्यसपछि पाँचपटक म्याद थप्दा पनि पुल निर्माणको आधामात्रै सकिएको छ । विसं २०७६ जेठ २, २०७७ पुस, २०७८ असार, २०७८ चैत र विसं २०७९ चैतमा म्याद थप भएको थियो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार हालसम्म पुल निर्माणको काम ५३ प्रतिशतमात्रै सकिएको छ । बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरिरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी पीयूष चटौतले बताए । 

“एक वर्षमा सक्नुपर्ने काम पाँचपटक म्याद थप गर्दा पनि सकिएको छैन, हामीले निर्माण कम्पनीलाई पत्राचार गरेर स्पष्टीकरण सोधेका छौँ”, उनले भने, “चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढ्छ ।”

निर्माण कम्पनीले कोरोना महामारी, चुनाव, मूल्यवृद्धि तथा मजदुर अभावका कारण देखाएर पुल पटक–पटक म्याद थप गरेको देखिएको उनले बताए । पुल निर्माणको ५३ प्रतिशत भौतिक प्रगति भएकामा हालसम्म रु दुई करोड ४४ लाख भुक्तानी भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै