• २०८१ बैशाख २४ सोमबार

पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ- मुख्यमन्त्री यादव

kharibot

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा देखिएको पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

सोमबार जनकपुरधाममा ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र वल्र्डभिजन इन्टरनेशनलको आयोजना तथा प्रदेश सरकारको समन्वयमा आयोजित पोषणसम्बन्धी राउण्डटेबल छलफल कार्यक्रममा मुख्यमन्त्री यादवले कुनै एक तहका सरकारको पहलले मात्रै मधेस प्रदेशमा रहेको पोषणसम्बन्धी समस्या समाधान नहुने भन्दै सबै तहका सरकारबीचको आपसी सहकार्य र समन्वय जरुरी रहेको बताए । उनले प्रदेशमा पोषणको स्थिति सुधारका लागि क्रियाशील सङ्घसंस्थासँग पनि आवश्यक सहकार्य र समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताए ।

“मधेस प्रदेशमा पोषणको स्तर सुधार ठूलो समस्या र चुनौतीका रूपमा रहेको छ । यसमा देखिएका समस्या समाधान गर्न र प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध छ”, मुख्यमन्त्री यादवले भने, “सबैको सामूहिक प्रयास भएमा हाल देखिएको समस्या समाधान गर्न सकिन्छ । त्यसैले म यस कार्यमा सहयोगका लागि सबैलाई आग्रह गर्दछु ।”

त्यस अवसरमा नेपाली कांग्रेसकी नेत्री एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा (देउवा) ले शिशुको पोषणको कुरा गर्दा आमाका लागि पोषणको आवश्यकता बिर्सन नहुने बताए । उनले पोषणको अभावमा आमा कमजोर हुँदा शिशु पनि स्वस्थ हुन नसक्ने भएकाले यसतर्फ विशेष ध्यानदिन आग्रह गरे । 

मानवीय विकास सूचकाङ्कमा पछि परेको मधेस प्रदेशको विकासका लागि जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने सांसद देउवाको भनाइ थियो । कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय सरकारले आवश्यक अधिकार र समन्वय नगरी प्रदेशलाई ओझेलमा पार्ने काम भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरे । 

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहले केही दिनभित्रै मधेस प्रदेशलाई पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने तयारी भएको जानकारी दिए । प्रदेशका एक सय ३६ मध्ये बाँकी रहेका १८ पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणाको तयारीमा सरकार जुटेको उनले बताए । 

उनले मधेस प्रदेशमा खस्किँदै गएको स्वास्थ्य सेवाको गुणस्तर वृद्धिका लागि सरकार संवेदनशील रहेकाले यस कार्यमा सबै पक्षबाट सहयोग हुनुपर्ने बताए । 

“मधेस प्रदेशका धेरै विज्ञ, वरिष्ठ चिकित्सकबाट देशभरका निजी तथा सरकारी अस्पतालमा गुणस्तरीय सेवा प्रवाह भइरहे पनि मधेसकै स्वास्थ्य अवस्था सुधार नहुनु चिन्ताको विषय हो”, मन्त्री सिंहले भने, “स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विज्ञ चिकित्सकहरूलाई प्रदेशमै सेवा दिन अभिप्रेरित गर्नेदेखि अन्य आवश्यक योजना कार्यान्वयन गर्दैछ । यसमा सबै तह र तप्काबाट हामीलाई सहयोगको आवश्यकता छ ।”

कार्यक्रममा वरिष्ठ चिकित्सक डा आरएन झाले जनकपुरधाममा क्यान्सर रोगको उपचारको सुरुआत हुनु सुखद् भएको भन्दै अब गुणस्तरीय र भरपर्दो उपचार सेवा दिन सम्बद्ध पक्षले ध्यान दिनुपर्ने बताए । 

प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ चिकित्सक डा बलराम मिश्रले जनकपुरधाममा नै क्यान्सर रोगको उपचार हुन लागेकामा खुसी व्यक्त गर्दै नागरिक हितलाई केन्द्रमा राखेर गुणस्तरीय सेवा दिन आग्रह गरे । 

त्यस अवसरमा डा महेश महासेठ, डा वैद्यनाथ ठाकुर, डा शरद यादव, प्रादेशिक अस्पतालका व्यवस्थापक अखिलेशकुमार साहसहित ३० जनाले रक्तदानसमेत गर्नुभएको क्यान्सर रोग विशेषज्ञ डा अवधेश साहले जानकारी दिए । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव डा किरण रूपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीलगायतले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव, वन तथा वातावरणमन्त्री रमेश पटेल, विनाविभागीय मन्त्री सुरिता साह, प्रदेशका निमित्त प्रमुख सचिव किशोर चौधरीलगायत प्रदेश सरकारका सचिव तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै