• २०८१ बैशाख १६ आइतबार

'ग्रीस आगोको ज्वालासँग ‘युद्धमा’ छ'

kharibot

रोड्स ।  ग्रीसमा बढ्दो तापक्रमको प्रभावले धेरै लोकप्रिय पर्यटकीय टापुहरूमा डढेलो लागेको र यसका कारण ठूलो सङ्ख्यामा मानिसहरू स्थानान्तरण हुन बाध्य भएका मङ्गलबार ग्रीक अधिकारीहरूले बताएका छन् ।

देशका धेरै क्षेत्रहरूमा तीव्र हावाको कारण जङ्गल र वरपरका वस्तीमा खतरनाक डढेलोको जोखिम भएको भन्दै ‘रेड अलर्ट’ सूचना जारी गरिएको छ ।

ग्रीसको रोड्स र कोर्फु टापुको जङ्गलमा लागेको डढेलोबाट हजारौं स्थानीय र पर्यटक भागेपछि निकै तातो मौसम सुरु भएको हो र ग्रीक प्रधानमन्त्रीले गर्मीले आक्रान्त राष्ट्र आगोको ज्वालासँग ‘युद्धमा’ रहेको बताएका छन् ।

वल्र्ड वेदर एट्रिब्युसन समूहका वैज्ञानिकहरूले यस महिना युरोप र उत्तरी अमेरिकाका केही भागहरूमा आएको गर्मीको प्रकोप मानव कारणले हुने जलवायु परिवर्तनबिना लगभग असम्भव हुने बताएका छन् ।

ग्रीक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले मन्त्रीपरिषद्को बैठकमा भने, “हाम्रो अगाडि अर्को कठिन ग्रीष्मऋतु छ । राष्ट्र अहिले आगोको ज्वालासँग ‘युद्धमा’ रहेको छ ।”

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ग्रीसले गत साता मात्रै ३५ हजार हेक्टर (८६ हजार ५ ०० एकड) वन तथा अन्य जमिन डढेलोका कारण प्रभावित भएको जनाएको छ ।

राजधानी एथेन्समा ४१ डिग्री सेल्सियस (१०६ डिग्री फरेनहाइट) र मध्य ग्रीसमा ४४ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान गरिएको राष्ट्रिय मौसम पूर्वानुमानकर्ता ईएमवाईले जनाएको छ । ग्रीसको कोर्फु टापुबाट सोमबार करिब दुई हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । रोड्स टापुमा दसौं हजार मानिसहरू पहिले नै भागेका छन् भने त्रसित पर्यटकहरू उद्धार उडानहरूमा घर फर्कन हतारिइरहेका छन् ।

रोड्समा लगातार आठौं दिन पनि आगोको ज्वालासँग २६० भन्दा बढी अग्निनियन्त्रकहरू लडिरहेका छन् भने उनीहरूलाई दुई हेलिकप्टर र अन्य दुई विमानहरूले सहयोग गरिरहेका छन् ।  ग्रीसको यातायात मन्त्रालयले आइतबार र सोमबार दुई हजार १०० भन्दा बढी व्यक्ति आपतकालीन उडानमार्फत घर फर्किएको जनाएको छ ।

ग्रीसको दोस्रो ठूलो टापु इभियामा पनि डढेलो लागेको थियो, जहाँ ग्रीक सुरक्षा अधिकारीहरूले एक उत्तरी इलाकामा रातभर खाली गरी सुरक्षित स्थलतर्फ जान निर्देशन गरेका थिए ।

मित्सोटाकिसले ग्रीसको राज्य संयन्त्रले ‘ठूलो चुनौती’ को सामना गर्नुपरेको बताएका छन् । दक्षिणी पेलोपोनी प्रायद्वीपको गाइथियोमा आइतबार तापक्रम ४६.४ डिग्री सेल्सियस पुगेको थियो तर राष्ट्रिय स्तरमा सबैभन्दा तातो तापक्रम ४८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

बिहीबारदेखि उच्च तापक्रम घट्ने पूर्वानुमान गरिएको छ भने प्रधानमन्त्री मित्सोटाकिसले देशले ‘अर्को कठिन तीन दिन’ को सामना गर्नुपर्ने चेतावनी दिएका छन् । ग्रीसको भीषण गर्मी दक्षिणी युरोप र उत्तरी अफ्रिकामा पनि प्रतिबिम्बित भएको छ ।

अल्जेरियाको आवासीय क्षेत्रमा लागेको डढेलोका कारण कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

दक्षिण–पूर्वी फ्रान्समा अधिकारीहरूले सोमबार बाउचेस–डु–रोन क्षेत्रमा उच्च स्तरमा डढेलोको चेतावनी जारी गर्दै मौसमको अवस्था खतरनाक भउको सङ्केत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय