• २०८१ बैशाख २० बिहीबार

लालबहादुर विश्वकर्मालाई उच्च अदालतको सफाइ

kharibot

काठमाडौँ । इटहरी-१९ बरमपुर फूलबारी टोलका लालबहादुर विश्वकर्मालाई उच्च अदालत विराटनगरले मंगलबार सफाइ दिएको छ । बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका विश्वकर्मासहित तीन जनालाई अदालतले सफाई दिएको हो । 

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । कृष्णबहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि उच्चले सफाइ दिइएको छ । 

दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर भएको छ । 

के हो लालबहादुरको प्रकरण ?

इटहरी- १९ स्थित बरमपुर फूलबारी टोलका बासिन्दा ३३ बर्षिय लालबहादुर इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा कालिगढका रूपमा कार्यरत थिए । ५ धुर जमिनका मालिक लालबहादुर यतिबेला भने १८ करोडभन्दा बढी रुपैयाँ ठगी भएको एउटा घटनामा मुछिएर सुनसरीको झुम्का कारागारमा कैद सजाय भोगिरहेका छन् ।
उनले कम गर्ने ज्वेलर्सका सञ्चालकको बदमासीमा संलग्न रहेको भन्दै जिल्ला अदालत सुनसरीले दोषी ठहर गरेको छ । 

दीपक बिक गजमेरले चलाएको सुनचाँदी पसलले अवैध रूपमा बैंकिङ कारोबार चलाइरहेको र सर्वसाधारणलाई १८ प्रतिशतसम्म ब्याज दिने भन्दै बकाइदा पासबुकसमेत छापेर बैंकिङ कारोबार चलाइरहेको थियो । जसमा ज्वेलर्सका मजदुर लालबहादुरले केही पासबुकमा हस्ताक्षर गरेको भरमा फसेको भन्दै उनी अन्यायमा परेको आवाज अहिले सामाजिक सञ्जालमा उठिरहेको हो । 

उनका छिमेकीहरू, स्थानीय जनप्रतिनिधिहरू, सामाजिक सन्जाल प्रयोगकर्ताहरू मात्रै होइन, ठगीमा परेर जाहेरी दिनेहरू समेतले उनी निर्दोष रहेको बताइरहे पनि उनी कानुनी रूपमा दोषी ठहर भएका छन् । 

सिंहदेवी ज्वेलर्सबाट ठगिएको भन्दै पीडितहरूले दिएको जाहेरी अनुसार परेको मुद्दामा २०७८ पुस १ गते सुनसरी जिल्ला अदालतले फैसला सुनाउँदै लालबहादुरलाई पनि दोषी ठहर गरेको थियो । अदालतले उनीसहितका ४ जनालाई दोषी ठहर गर्दै  कैद सजाय, जरिवाना तथा बिगो रकम तिराउन आदेश दिएको थियो । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०४ को १ ‘क’ अनुसार ज्वेलर्स सञ्चालक दीपकलाई ७० हजार जरिवाना, तीन वर्ष कैद र बिगोबापत् १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ तिराउन आदेश गरेको अदालतले लालबहादुरसहित अन्य तीन जनालाई सोही ऐनको १ ‘घ’ बमोजिम ७० हजार जरिवाना र  डेढ-डेढ वर्ष कैद गर्न तथा ९ करोड ४२ लाख ९९ हजार बिगो असुल्न अदालतले आदेश दिएको छ ।

अदालतले उनीहरू तीन जनाबाट उक्त रकम दामासाहीले भराउन भनेपछि लालबहादुरले ३ करोड १४ लाख ३३ हजार रुपैयाँ तिर्नपर्ने भएको छ ।   

सो रकम तिर्न नसकेपछि लालबहादुर अहिले कारागारमा छन् । लामो समय अदालतमा उपस्थित नभएका उनले पैसा तिर्न नसक्ने अवस्था भएपछि गएको मंसिर २१ मा आत्मसर्मण गरेका थिए । 

ज्यालादारीबापत् मासिक २० हजार रुपैयाँ आम्दानी गर्ने सुन पसलका मजदुरले गर्दै नगरेको अपराधमा यति धेरै सजाय भोग्नु परेको भन्दै यतिबेला सामाजिक सन्जालमा उनलाई न्याय माग्ने अभियान चलेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै