• २०८१ बैशाख १६ आइतबार

प्रचण्डप्रति जनार्दन शर्माको गुनासो- असहयोग गर्यो भन्ने गलत प्रचार गरियो

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले आफुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई असहयोग नगरेको प्रस्टीकरण दिएका छन् ।

जारी केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा अध्यक्ष प्रचण्डलाई आफुले सहयोग गरेको तर गलत प्रचार गरेको उनको गुनासो थियो । 

‘अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, बैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु । स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु,’ शर्माले केन्द्रिय समिति बैठकमा भने, ‘परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सँधै अध्यक्षको पक्षमा खडा भएकै छु । होला कहिलेकाँही आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ ।’ 

उनको थप गुनासो थियो, ‘अध्यक्ष कमरेडले भन्नुपर्यो– कुन चाँहि अप्ठेरो मोडमा तपाइले मेरो साथ र समर्थन पाउनु भएन ? तल तल कुन चाँहि व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाँहि भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाँही काम गर्यो होला।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय