• २०८१ बैशाख २१ शुक्रबार

माओवादीको आन्दोलन यात्रा जारी छ : उपाध्यक्ष सापकोटा

kharibot

धुलिखेल (काभ्रेपलाञ्चोक)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको आइतबार नवौँ पूर्ण बैठकमा उनले माओवादी पार्टीमात्रै नभएर विचारसहितको आन्दोलन पनि भएकाले निराश नभएर निरन्तर पार्टी र आन्दोलनमा लाग्न आग्रह गरे ।

सबै कुराको निर्धारण विचार र सिद्धान्तले गर्ने भएकाले पार्टी जति बिग्रिदै गए पनि आन्दोलनको यात्रा नरोकिने उनको भनाइ छ । “विचार र सिद्धान्तलाई सामान्य र कमजोर नठान्न सबैलाई विनम्र आग्रह छ, राम्रो नीति, योजना, कार्यदिशा र सिद्धान्त भयो भने अगाडि बढ्न कुनै अप्ठ्यारो छैन, त्यो तागत माओवादी पार्टीभित्र छ”, उनले भने ।  

राजनीतिलाई कमजोर रूपमा नलिन र सामान्य ढङ्गले नसोच्न आग्रह गर्नै उनले सबै चिजको निर्धारण त्यसैले गर्ने भएकाले राजनीतिलाई अझ गहिराइमा पुगेर बुझ्न सबै नेता, कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

जनताले अझै पनि माओवादी पार्टीप्रति नै बढी विश्वास गरेको भए पनि २०५७ सालदेखि माओवादी पार्टीभित्र विचारको संश्लेशण गर्ने परिपाटी छोड्दै गएकाले पार्टी पछि पर्दै गएको उनको भनाइ छ । 

“हामीले माथिमात्रै हेर्ने, विश्वास गर्ने र त्यसैमा रमाउने मात्रै गरिरह्यौँ”, “त्यसबाट मुक्त हुँदै पार्टीको जग भनेको नै आधारभूत वर्ग किसान, मजदुर, पिछडिएको वर्ग र समुदायलाई बुझ्ने कामलाई गम्भीरतापूर्वक लिन आवश्यक छ ।”

पार्टीलाई अझ गति पैदा गराउन राजीतिक खोज, अनुसन्धान र विश्लेषणलाई महत्वका साथ लिएर नयाँ योजना बनाएर अगाडि बढिरहेको उल्लेख गर्दै उनले आम नेता, कार्यकर्ताले पनि आफूलाई रुपान्तरण गर्दै बदल्न आफैँलाई चिन्नका लागि सोच्नसमेत आग्रह गरेका छन् । 

अबको चार महिनाभित्रमा पार्टीको जनवर्गीय सङ्गठन र मोर्चाको सम्मेलन, भेला र प्रशिक्षण राखेर सङ्गठनलाई सक्रिय र चलायमान बनाउन लाग्न सबै कमिटीलाई उनले आग्रह गरे ।

पार्टीका केन्द्रीय सदस्य सूर्यमान दोङ (लालध्वज) ले पार्टी सङ्घ, प्रदेश र स्थानीय सबै तहमा सरकारमा रहेका कारण पार्टीभित्र देखिएको समस्या समाधान गर्न आधार प्रशस्त रहेको बताए ।

कतिपय नेताले चित्त नबुझेर दिने गरेको राजीनामा मात्रै समस्याको समाधान नभएको टिप्पणी गर्दै नेतृत्व लिन र त्यही खालको परिणाम दिनेगरी काम गर्न तयार रहन आग्रह गरेका छन् ।

पार्टी समस्याको निकास दिन र समानताको प्रतीकका रूपमा उभिएको भन्दै उनले नेता भएर साधारण जनताको सोच र चिन्तनमा बहकिने जस्तो व्यवहार नदेखाउन आग्रह गरे ।

पार्टीको केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला कमिटी इन्चार्ज तेजबहादुर मिजारले पार्टीले ल्याएको जबस मोर्चालाई सङ्गठित र क्रियाशील बनाउने अभियानलाई मूर्तरुप दिन अभियानमा लामबद्ध हुन तयार रहेको बताए ।

पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पार्टी सङ्गठनभित्र सबै ठाउँमा समस्या देखापरेको भन्दै समाधानका लागि अगाडि बढ्न सबै जिल्लाका नेतृत्व र सिङ्गो पार्टी तयार रहन आग्रह गरे ।

“नयाँ समस्या जति आयो, त्यति नै समाधान गर्न पार्टी नेतृत्व अगाडि बढ्नुपर्ने हुन्छ”, उनले भने, “त्यसखालका गतिविधि अवरुद्ध हुँदै आएको छ, त्यसका लागि वडा, पालिका र जिल्ला कमिटीले हिम्मत गर्न सक्नुपर्छ ।”  

पार्टी जिल्ला कमिटी संयोजक भोला अर्यालयको अध्यक्षतामा भएको बैठकमा सहभागी नेता र पालिका कमिटीका अध्यक्षले पार्टीलाई सक्रिय बनाउनुपर्ने, सबै जनवर्गीय सङ्गठन र मोर्चाको भेला, बैठक, प्रशिक्षणको आयोजना गरी सक्रिय पार्टी सङ्गठन निर्माण गर्न जोड दिएका थिए ।
 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै