• २०८१ बैशाख १५ शनिबार

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ- प्रकाशमान सिंह

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क)ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसल बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन्  ।

“पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनिहरुको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ”, उनले भने । 

नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे । कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै  आउने गरी काम गर्न उनले सुझाव दिए ।

“पार्टीभित्र काम नगर्ने तर पैसाको चलखेल गर्ने व्यक्तिलाई पाखा लगाउनुपर्छ, पार्टीभित्रबाटै उक्त अभियान चलाउनुपर्छ,” उनले भने । 

पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे ।

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो । उनले केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरेमात्र पार्टी थप बलियो र मजबुद हुने भनाइ व्यक्त गरे । उनले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा बलियो हुने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै