• २०८१ बैशाख १७ सोमबार

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

kharibot

चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन ।

उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन ।

अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल । पछिल्लो समय अस्पतालले सरसफाइ तथा सौन्दर्यका साथै क्षमता बिस्तार र गुणस्तरीय सेवा सुविधामा विशेष ध्यान दिएको छ । जसको नतिजा अस्पतालको प्रदेशद्वारदेखि नै देख्न सकिन्छ । अस्पतालले निर्माण गरेको सुन्दर प्रवेशद्वार, पानीको फोहोरा र बगैँचाले अस्पतालको सुन्दरता बढाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालले शय्याको सङ्ख्या वृद्धि गर्ने, सेवा सुविधा बढाउने र सहज तथा सुलभ उपचार दिने उद्देश्य अनुरुप क्षमता तथा सेवा बिस्तारसँगै सौन्दर्यमा पनि विशेष ध्यान दिइएको जानकारी दिए । विसं २०४९ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको अस्पतालमा तत्कालीन समयमा १२ शय्याको आकस्मिक कक्ष थियो । हाल त्यसलाई बढाएर ५० शय्याको अत्याधुनिक आकस्मिक कक्ष बनाइएको उनको भनाइ छ ।

साथै २० शय्याको सघन उपचार कक्षलाई बढाएर ३० शय्याको बनाइएको छ । हाल दुई ठाउँमा सघन उपचार कक्ष सञ्चालनमा  छन् ।

त्यति मात्रै होइन, १२ शय्याको बाल सघन उपचार कक्षलाई २० शय्या बनाइएको छ भने हाल अस्पतालमा छ शय्याको पिआईसियु पनि सञ्चालनमा ल्याइएको छ ।

यस्तै पहिलो पटक चार शय्याको सिसियु र तीन शय्याको ‘बर्न बार्ड’ सञ्चालनमा ल्याइएको छ । यही भदौबाट मुटुरोग विभाग पनि सञ्चालनमा ल्याइएको अस्पतालको भनाइ छ । 

प्रा डा पौडेलका अनुसार सेवा सुविधा बिस्तार गर्ने क्रममा यसैवर्ष क्याथल्याव सञ्चालन गरिनेछ भने अत्याधुनिक ट्रमा सेन्टर पनि निर्माणको प्रक्रियामा छ ।

अस्पतालले रोटरी क्लबसँगको सहकार्यमा अर्को वर्षको असारसम्म सुविधा सम्पन्न स्पाइनल इन्जुरी सेन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

“प्रयोगशालालाई उच्चस्तरको आधुनिक बनाइएको छ भने १२ शय्याको डायलासिस बढाएर १७ शय्याको पुर्याइएको छ”, पौडेलले भने, “केही दिनमै यसलाई २० शय्या बनाइनेछ ।”

पौडेलका अनुसार अस्पताल प्रसूतिका लागि पनि परिचित छ । यहाँ विभिन्न जिल्लाबाट प्रसूतिका लागि ठूलो सङ्ख्यामा सेवाग्राही आउने गरेका छन् । सोही विषयलाई ध्यानमा राख्दै प्रसूति विभागमा शय्या र कक्ष आधुनिक बनाइएको उनले जानकारी दिए । अस्पतालमा सुरक्षित बनाउन प्रवेशका लागि ‘डिजिटल कार्ड प्रणाली’को व्यवस्था गरिएको उनको भनाइ छ ।

अस्पतालमा दुई मोडुलरसहितका सात शल्यक्रिया कक्ष सञ्चालनमा छन् । अस्पताल परिसरमा निर्माण गरिएको बगैँचाले अस्पतालको सौन्दर्य बढाएको छ भने सेवाग्राहीलाई पनि सहज भएको उनको बुझाइ छ । अस्पतालमा हाल पाँच वटा फार्मेसी सञ्चालनमा छन् । अस्पतालले चालु आर्थिक वर्षभित्रै एमआरआई मेसिन ल्याउने योजना बनाएको डा पौडेलले जानकारी दिए ।

प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई अनलाइनबाट टिकट काट्ने व्यवस्था र कार्डबाटै भुक्तानीको व्यवस्था गरिएको छ । अस्पतालमा भदौ ३ गते एक दिनमा सबैभन्दा धेरै दुई हजार तीन सय ८० बिरामीले बहिरङग सेवा लिएका थिगए । अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क छ । अस्पतालमा रहेका छ सय शय्यामध्ये चार सय निःशुल्क गरिएको छ ।

हाल अस्पतालमा एक हजार ६१ चिकित्सक तथा कर्मचारी कार्यरत छन् । तीमध्ये नेपाल सरकारका तीन सय ९८  चिकित्सक तथा कर्मचारी छन् । पौडेलले दरबन्दी थप हुने हो भने अझ राम्रो सेवा दिन सकिने बताए । अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीको सेवा र सुविधालाई दृष्टिगत गरी सेवा विस्तार गरिएको र अतिविशिष्ट सेवा सञ्चालनमा ल्याएपछि उनि उपचार गराउने बिरामीको सङ्ख्या बढेको बताए ।

उनले सरकारी अस्पतालमध्ये पहिलो पटक यस अस्पतालमा साधारण बहिरङ सेवा (जिओपिडी) सेवा सुरु गरिएको बताए । बिहान ८ बजेदेखि सुरु हुने यो सेवा बेलुकी ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै