• २०८१ बैशाख १९ बुधबार

वीरगन्जमा घर पहिचान गर्न ‘मेट्रिक’ प्रणाली सुरु

kharibot

वीरगन्ज । वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणाली (जिआइएस बेस्ड हाउस नम्बरिङ)को सुरुआत गरेको छ ।

बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो । नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख राजेशमान सिंहले बताए ।

महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकले आवश्यक तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् । वीरगन्ज महानगरपालिकाको वडा नं १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरुआत गरेका छन् ।

आदर्शनगर चोकबाट ठाकुरराम क्याम्पससम्मको सडकलाई पशुपति घोषमार्ग नामकरण गरी दुई सय ३० नम्बरको नम्बरप्लेट टाँस गरिएको छ । सडकको चोक तथा मिलनविन्दु (दोबाटो र चौबाटो)देखि कुनै निश्चित घरको दूरी (लम्बाइ)का आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो । उक्त दूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने महानगरका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिए ।

पहिलो चरणमा महानगरको वडा नं १ देखि १६ सम्म जिआइएस बेस्ड हाउस नम्बरिङ गर्नका लागि सर्भे गरी सबै सडकको नामकरण गर्नुका साथै आवश्यक डाटाबेस तयार पारिसकिएको जिआइएस विज्ञ उमेश कुँवरले बताए । आवश्यक डाटाबेसका आधारमा सडकको सुरु विन्दुबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रणालीका आधारमा नम्बरिङ गरिने पनि उनले बताए । 

पशुपति घोषमार्गमा आजै ५५  घरमा नम्बरिङ गरिएको छ ।  १६ वटै वडाको करिब ३३ हजारभन्दा बढी घरमा नम्बरिङ गर्ने गरी तयारी भएको र पहिलो चरणमा कम्तीमा १० हजार घरमा मेट्रिक प्रणालीसहितको नम्बरप्लेट वितरण गर्ने महानगरको लक्ष्य रहेको प्राविधिक सल्लाहकार अमात्यको भनाइ छ । यो प्रणालीमा सडक–गल्लीको नाम र

दूरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले जो–कोहीले खोजेको घर सहजै पत्ता लगाउन सक्ने जिआइएस टेक्निसियनसमेत रहेका सबइन्जिनियर अर्चन आचार्यले बताए । 

अवैधरूपमा सञ्चालित थप दुई कलेजमा सिलबन्दी

वीरगन्ज महानगरपालिकाले थप दुईवटा कलेजमा सिलबन्दी गरेको छ । अवैधरूपमा सञ्चालित शैक्षिक संस्था बन्द गराउने अभियान सुरु गरेको महानगरपालिकाले पछिल्लोपटक वडा नं १६ स्थित अन्नपूर्ण कलेज र वडा नं ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको हो ।

अन्नपूर्ण कलेज श्रीमाइस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा अवैधरूपमा सञ्चालित गरेकाले सिलबन्दी गरिएको महानगरपालिकाद्वारा गठित नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले जानकारी दिए ।

कलेज सञ्चालनका लागि आवश्यक अनुमतिसमेत नलिएर अवैधरूपमा विद्यालय भवनमाथि कब्जा जमाएको पाएपछि कलेजमा सिलबन्दी गरिएको उनको भनाइ छ । जिल्ला समन्वय समिति पर्साका सभापति निरञ्जन साह सोनार (मुन्ना सर्राफ)को नेतृत्वमा पुगेको टोलीले विद्यालय भवनको मुख्यद्वारमा सिलबन्दी गरेको संयोजक यादवले बताए ।

यस्तै युनिभर्सल एकेडेमीले पनि कलेज सञ्चालनका लागि आवश्यक अनुमति नलिएको पाएपछि महानगरले सिलबन्दी गरेको उनले बताए । यसअघि गत भदौ १३ गते वीरगन्ज महानगरको टोलीले आवश्यक अनुमति नलिएको भन्दै वीरगन्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजी बी किड्समा सिलबन्दी गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै