• २०८१ बैशाख १९ बुधबार

प्रधानमन्त्री मोदी र साउदी युवराजबीच द्विपक्षीय वार्ता

kharibot

नयाँदिल्ली । साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउद र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरबका युवराजले रणनीतिक साझेदारी परिषद्का दुई मन्त्रीस्तरीय समिति अर्थात् राजनीतिक, सुरक्षा, सामाजिक तथा सांस्कृतिक सहयोग समिति र आर्थिक तथा लगानी सहयोगसम्बन्धी समितिअन्तर्गत भएका प्रगतिको समीक्षा गर्नेछन् ।

प्रधानमन्त्री मोदी र साउदी अरबका युवराजबीच राजनीतिक, सुरक्षा, रक्षा, व्यापार र आर्थिक, सांस्कृतिक र जनस्तरको सम्बन्धलगायत द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुनेछ ।

दुवै नेताबीच पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा पनि छलफल हुनेछ । साउदी युवराजका साथ मन्त्रीहरू र वरिष्ठ अधिकारीहरूसहित एक उच्च स्तरीय प्रतिनिधिमण्डल छ । 

प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्नुअघि साउदी अरबका युवराजलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो ।

यसैबीच, मोहम्मद बिन सलमानले एक संक्षिप्त वक्तव्यजारी गर्दै जी–२० को सफल अध्यक्षताका लागि भारतलाई बधाई दिएका छन् । 

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “राम्रो कामका लागि भारतलाई उच्च सम्मान छ । धेरै घोषणाहरू गरिएका छन् जसले हाम्रा देशहरू, जी–२० सदस्य राष्ट्र र सम्पूर्ण विश्वलाई फाइदा पुर्याउनेछ ।” उनले भने, “राम्रो भयो र हामी दुवै देशको भविष्य निर्माण गर्न काम गर्नेछौं ।”

जी–२० नेताहरूको शिखर सम्मेलनमा भारत, संयुक्त राज्य अमेरिका, साउदी अरब र युरोपियन युनियनले भारत–मध्य पूर्व–युरोप सामान आपूर्ति र रेलवे कनेक्टिभिटी करिडोर सुरु गर्न ऐतिहासिक सम्झौताको घोषणा गरेका छन् । भारत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, ईयू, फ्रान्स, इटाली, जर्मनी र अमेरिकासम्मिलित कनेक्टिभिटी र पूर्वाधारमा सहयोगका लागि यो ऐतिहासिक र पहिलो पहल हो ।

जी–२० शिखर सम्मेलनमा बोल्दै राजकुमार बिन सलमानले भने, “हामी यस बैठकमा घोषणा गरिएको पहल र आर्थिक करिडोर परियोजनाको एकीकरणको लागि तत्पर छौं । यो महत्वपूर्ण आर्थिक करिडोर स्थापनाका लागि यो चरणमा पुग्न हामीसँग काम गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।” 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस सम्झौताले विश्वभर कनेक्टिभिटी र दिगोपनालाई दिगो दिशा प्रदान गर्ने बताएका छन् ।

यसअघि साउदी अरबका युवराजले सन् २०१९ को फेब्रुअरीमा भारतको राजकीय भ्रमण गरेका थिए । द्विपक्षीय भेटवार्तामा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत सहभागी थिए । भारतको तीन दिने राजकीय भ्रमणमा आएका साउदी अरबका युवराज तथा प्रधानमन्त्री जी–२० शिखर सम्मेलनमा सहभागी भएका थिए । 

दुवै नेताले रणनीतिक साझेदारी परिषद्को प्रथम बैठकको सह–अध्यक्षता पनि गर्नेछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै