• २०८१ बैशाख १५ शनिबार

लिबियामा विनाशकारी आँधीपछि बाढी: तीन हजारको मृत्यु र १० हजार बेपत्ता !

kharibot

काठमाडौँ । सेप्टेम्बर ९ मा लिबियामा आएको ड्यानियल आँधी र त्यसपछि आएको बाढीका कारण अहिलेसम्म ३ हजार जनाको मृत्यु भइसकेको छ । मिडिया रिपोर्टका अनुसार आँधी र बाढीबाट ७ देखि १० हजार मानिस बेपत्ता भएको बताइएको छ ।

उद्धार कार्यमा संलग्न १२३ सैनिक पनि बेपत्ता छन् भने १२ सैनिकको मृत्यु भएको पुष्टि भएको छ । सबैभन्दा ठूलो समस्या भनेको देशका छनोट भएका विमानस्थलमा कुनै पनि भारी वा कार्गो विमान अवतरण गर्न नसक्ने अवस्था रहेको छ, जसको कारण उद्धारका लागि समस्या उत्पन्न भएको छ ।

‘द गार्डियन’ र ‘अल अरब मनिटर’का रिपोर्टका अनुसार लिबियाको पूर्वी भागको अवस्था अझै नियन्त्रणबाहिर छ र यही कारण २४ घण्टामा मृत्यु हुनेको संख्या ७० बाट ३०० पुगेको छ । सोमबारदेखि मंगलबारसम्म बेपत्ता हुनेको संख्या पनि दुई हजारबाट १० हजार पुगेको छ । बन्दरगाह सहर डेरना पनि पूरै सहर बाढीले घेरिएको छ । यो सहरमा मात्रै ७०० जनाको ज्यान गएको छ । अवस्था यति नाजुक छ कि शव गाड्ने ठाउँ पनि छैन ।

स्वास्थ्यमन्त्री अब्दुल जलीलले नै मृत्यु हुनेको संख्या ३ हजार नाघेको बताएका छन् । उनका अनुसार अहिले मृत्यु हुनेको संख्या ३ हजार मानिँदैछौं तर परिस्थिति हेर्दा यो संख्या १० हजारसम्म पुग्न सक्ने देखिन्छ । लिबियाले देशका चुनिएका विमानस्थलको अवस्था खराब भएको र यहाँ ठूला वा कार्गो विमान अवतरण गर्न नसक्ने स्पष्ट पारेको छ । यति हुँदाहुँदै पनि टर्कीले यहाँ केही राहत सामग्री पठाउन सफल भएको छ ।

स्वास्थ्यमन्त्रीले भने- डेर्ना क्षेत्रको अवस्था यति नाजुक छ कि धेरै ठाउँमा पुग्न पनि सकिँदैन । यसकारण हामीले सो ठाउको अवस्था कस्तो होला भन्ने अनुमान मात्र गर्न सक्छौँ । धेरै ठाउँमा शव पानीमा तैरिरहेको देखिन्छ । उनले डेर्ना सहर २५ प्रतिशत ध्वस्त भइसकेको बताए ।

सन् २०११ यता लिबियामा एउटै सरकार छैन। यहाँका जनजातिहरुबीच द्वन्द्व चलिरहँदा बाढीपहिरोको अवस्थालाई सम्हाल्न निकै कठिन भइरहेको छ ।

तानाशाह मुअम्मर गद्दाफी सन् २०११ मा मारिएका थिए । त्यसयता लिबिया दुई भागमा विभाजित भएको छ । यहाँ फरक-फरक भागमा दुई सरकार वा दुई प्रशासनले काम गरिरहेको छ भन्न सकिन्छ । एउटा समूह गद्दाफीका समर्थकहरूको र अर्को आदिवासी जनजातिहरूको हो । त्रिपोली र टोरबुक क्षेत्रहरू निजी मिलिसिया वा जनजातिहरूद्वारा शासित छन् ।

‘अल अरब’ को रिपोर्ट अनुसार लिबियामा सन् २०११ यता कुनै पनि सडक निर्माण भएको छैन । हाल, टर्किले ८४ जनाको मेडिकल टोली र केही औषधि बेनगाजी सहरमा पठाएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार लिबियाको अवस्थाको निगरानी भइरहेको छ र केही आपतकालीन योजना पनि बनाइएको छ । तर, त्यहाँ सहयोग गर्न अन्य देशको सहयोग लिनुपर्ने हुन्छ । एक अधिकारीका अनुसार केही महिनाअघि टर्की र सिरियामा गएको भूकम्पपछिको अवस्था लिबियामा पनि त्यस्तै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै