• २०८१ बैशाख १६ आइतबार

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

kharibot

कास्की ।  पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गरेका ह्चन ।

यसअघि समेत कोइका र महानगरपालिकाबीच परियोजनासम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेकामा हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

प्रतिबद्धताअनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो रिसाइकल र अपसाइकल (आरयु) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयु उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

यस्तै ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयु उद्यमहरूलाई व्यवसाय इन्क्युवेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतनासम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्त्वपूर्ण हुने बताइन्छ । ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नं ६ वसुन्धरा पार्कमा पाँच हजार ९० वर्गमिटर क्षेत्रफल उपलब्ध गराउनेछ । 

हरित अर्थतन्त्रमा योगदान पुर्याउने दिगो आरयु उद्यमहरूलाई बढावा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयु उद्यमहरूलाई बढावा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्व लिनेछ ।

महानगर प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यसलाई मोहरमा बदल्ने प्रयासस्वरूप हरित रोजगारी सिर्जनामा जोड्न लागिएको बताए । उनले भने, “परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने फोहोरबाट मोहर आर्जन हुनेछ ।” 

कोइकाका उपप्रमुख युनयङ्ग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । फोहरमैलाको उचित व्यवस्थापनमार्फत हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको सिर्जनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै