• २०८१ बैशाख १६ आइतबार

भारत-क्यानडा विवाद: जम्मू-कश्मीर भ्रमण नगर्न एडभाइजरी जारी

kharibot

काठमाडौँ । भारत र क्यानडाबीच कूटनीतिक विवाद बढ्दै गएको छ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्याको आरोपमा भारतलाई आरोप लगाएपछि विवाद शुरु भएको थियो । यससंगै क्यानाडाले एक भारतीय उच्च कूटनीतिज्ञलाई निष्कासन गरेको थियो । जवाफमा भारतले पनि क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गर्यो ।

यसपछि मंगलबार राति दुईवटा ठूला घटना भएका छन् । पहिलो- क्यानडा सरकारले जम्मू-कश्मीरको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान एडभाइजरी जारी गरेको छ । क्यानडाले जम्मू-कश्मीरमा आतंकवाद र अपहरणको खतरा रहेको बताएको छ । यसका साथै असम र मणिपुर नजान पनि सल्लाह दिइएको छ ।

दोस्रो- क्यानडाको सबैभन्दा ठूलो पत्रिका 'टोरन्टो स्टार'ले ट्रुडोको बयान जारी गरेको छ । जसमा क्यानडा सरकारले भारतसँग तनाव बढाउन नचाहेको तर भारतले यी विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ ।

यसैबीच क्यानडाको विपक्षी दलले भारत द्वन्द्वको मुद्दामा प्रधानमन्त्री ट्रुडोबाट टाढिँदै गएको बताएको छ । विपक्षी नेता पियरे पोइलिभ्रेले सामाजिक सञ्जालमा भनेका छन्– 'हाम्रा प्रधानमन्त्रीले स्पष्ट र प्रत्यक्ष बोल्नुपर्छ । प्रमाण छ भने जनतासामु पेश गर्नुपर्छ । यो भयो भने मात्र जनताले को सही र को गलत भन्ने निर्णय गर्न सक्नेछन् । अचम्मको कुरा के छ भने ट्रुडोले कुनै तथ्य प्रस्तुत गरेका छैनन् ।'

टोरन्टो स्टारको रिपोर्टका अनुसार मंगलबार राति क्यानाडाली प्रधानमन्त्रीको अडान केही नरम देखिएको छ । उनले भनेका छन्- 'हामी यो तनाव बढाउन चाहँदैनौं । हामीले केही तथ्य प्रस्तुत गरेका छौं । हामी यस मुद्दामा भारत सरकारसँग काम गर्न चाहन्छौं ताकि सबै कुरा स्पष्ट होस् ।'

यस प्रकरणमा भारतले क्यानडाले लगाएको सबै आरोप अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले भन्यो– 'क्यानडाका सबै आरोप आधारहीन छन् । क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीलाई पनि यस्तै आरोप लगाएका थिए र ती पूर्ण रूपमा अस्वीकार गरियो ।

त्यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतंककारी र अतिवादीहरूबाट ध्यान हटाउने प्रयास हुन् । उनीहरूलाई क्यानडामा अभयारण्य दिइएको छ र उनीहरू भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन् ।'

क्यानडामा लगभग १८ लाख भारतीय मूलका नागरिकहरू छन्, जसमध्ये धेरै सिखहरू छन् । क्यानडाको विपक्षी दल न्यु डेमोक्रेटिक पार्टीका नेता जगमीत सिंह सिख समुदायका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै