• २०८१ बैशाख १५ शनिबार

प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु

kharibot

काठमाडौँ । कलाकार प्रमिला गिरीको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा सुरु भएको चित्रकला विशेषतः संस्कृति, सम्पदा र प्रकृतिको मानवीय मूल्य दर्शाएको छ । कलाकार गिरीको चित्रकलाले तत्कालीन र वर्तमान कलाको अवस्थालाई उजागर गरेको छ ।

सांस्कृतिक सम्पदा र प्राकृतिक विविधतालाई समेटेर क्यानभाषमा उतारिएका ती चित्रकलाले संस्कृति र सम्पदाको साथै विभिन्न शक्तिपीठहरुको गरिमा बोकेको छ । चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै नेपाल कला परिषद्का अध्यक्ष सागर समशेर जबराले कलाकार गिरीको मूर्त अमूर्त कला र संस्कृतिका जीवन्त भाव दर्शाउने चित्रकलाले सामाजिक चेतना र तत्कालीन परिवेष्टलाई चित्रित गरेको बताए । उनले नेपाली कला, संस्कृति र सम्पदाको संरक्षण प्रवर्द्धनमा सरकार, राजनीतिक दल एवं सामाजिक क्षेत्रको पनि उत्तिकै दायित्व भएको उल्लेख गरे ।

विगत पाँच दशकभन्दा लामो समयदेखि चित्रकला र मूर्तिकलाको सिर्जनामा सक्रिय गिरीले संसारभर छरिएर रहेका आफ्ना कलाकृतिलाई संयोजन गरेकी छन् । उनले कला संस्कृति नभई देश समृद्ध हुँदैन भन्दै यसबारे सरकारले पनि विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याइन् । चित्रकलाले अहिले समाजमा स्थायी शान्ति कायम गर्न र अध्यात्मभाव दर्शाउन खोजिएको गिरीले उल्लेख गरिन् । सरकारले नेपाली कलाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पत्रकार शेखर गिरीले सांस्कृतिक परम्पराको जगमा चित्रकला प्रस्तुती गरेको भन्दै प्रदर्शनीको आकर्षणको रुपमा भैरवीको रुप र प्रस्तुतिलाई लिन सकिने बताए । भगवान् शिवको शक्तिको रुप भैरव र भैरवीको विशेषतालाई चित्रकलामा उतारिएको छ । आगामी कात्तिक ४ गतेसम्म चल्ने प्रदर्शनीमा ७० भन्दा बढी चित्रकला प्रदर्शित छन् ।

कलाकार गिरीले भनिन्, “कलाकारको सृजनाको आदर्श स्रोत भनेको उँ हुर्केको बसेको समाज र संस्कृतिको गौरवशाली सांस्कृतिक चेत हो । भगवान् शिवको भव्य संस्कृतिक परम्परा माझ मनाइने चाड पर्वको उमङ्ग, उत्सव र हर्षोल्लासमा बितेका आफ्ना बाल्यकाललाई सम्झदै चित्रकलामार्फत उजागर गरेकी हुँ ।”

संसारका विभिन्न भूभागमा पुग्दाको अनुभव र अनुभूतिलाई चित्रकलाको माध्यमबाट उतारेको उहाँले उल्लेख गर्नुभयो । शिवका शक्तिशाली गण, अष्ट भैरवका रौद्र, शान्त, अनन्त र आनन्दको आराधना विभिन्न अष्टी, मूर्त र अमूर्त रुप र आकारसँग, धातु र काष्टको माध्यमबाट चित्राकर्षक प्रस्तुतीकरण गरिएको विशेषता हो ।

भैरवीको पनि चित्राकर्षा प्रस्तुती यो प्रदर्शनीमा हेर्न सकिन्छ । समग्रमा गिरीको सिर्जनाको शक्तिशाली पक्ष भनेको उनको सिर्जनामा पाइने अध्यात्म चेत हो । उनको सिर्जनामा तेस्रो नेत्र र अनन्त नादको ध्यवनीको खोजी छ । तीन दशक लामो विदेश बसाइपछि नेपाल फर्किनुभएकी कलाकार गिरीले मूर्ति र चित्र संयोजन कला प्रदर्शनीमा राखेकी छन् । गिरीले आगामी दिनमा पनि यस्ता प्रदर्शनीलाई निरन्तरता दिने बताइन् ।

प्रमिला गिरीको प्रदर्शनी हेर्न उल्लेख्य सङ्ख्यामा कला पारखीहरू उपस्थित भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै