• २०८१ बैशाख १७ सोमबार

चैते धान प्रवर्द्धन गर्न कृषकलाई अनुदान

kharibot

तनहुँ।  कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवद्र्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवद्र्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । 

किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए ।

जमिन बाँझो राख्नेक्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा र चामल आयात गर्नुपर्ने बाध्यता भएकाले चैतेधान प्रवद्र्धन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

ढुवानी, बीउ, सिँचाइ, उपकरण खरिदमा अनुदानको व्यवस्था गरिएको छ । कार्यालयले अनुदान दिन थालेपछि चैते धान खेतीमा किसानको आकर्षण बढेको कार्यालयले जनाएको छ । 

धानको बीउमा ७५ प्रतिशत अनुदान र सिँचाइअन्तर्गत कुलो निर्माण र मर्मतमा ८५ प्रतिशत अनुदानको व्यवस्था गरिएको ज्ञान केन्द्रका सूचना अधिकारी परियारले बताए । 

उनका अनुसार जिल्लाको पाँच हजार ३६ रोपनी जमिनमा चैते धानखेती गर्न १५ वटा कृषक समूह तथा सहकारी समावेश गरिएको छ । उक्त समूह र सहकारीलाई छ टन धानको बीउ अनुदानमा वितरण गरिएको छ । 

कार्यक्रमका लागि रु एक करोड ५० लाख बजेट विनियोजन भई कृषक समूह तथा सहकारीसँग सम्झौता गरिएको छ । कार्यक्रमअन्तर्गत धान चुट्ने थे्रसर, खेत जोत्ने मिनिटिलर तथा ट्र्याक्टरमा अनुदानको व्यवस्था गरिएको छ । 

सबैभन्दा धेरै बजेट ८२ लाख ५० हजार सिँचाइका लागि विनियोजन गरिएको छ । चैते धान विशेष गरी चिउराका लागि प्रयोग गरिने तर खेत बाँझो हुँदा भारतबाट आयात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै