• २०८१ बैशाख १६ आइतबार

अमेजनमा एक सयभन्दा बढी डल्फिन मृत फेला

kharibot

काठमाडौं । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । 

ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको छ । उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका लागि प्रमुख क्षेत्र हो ।

उक्त संस्थाले उपलब्ध गराएको भिडियोमा गिद्धहरूले मृत डल्फिनलाई टिपेको देखाइएको छ । स्थानीय सञ्चारमाध्यमअनुसार हजारौँ माछा पनि मरेका छन् । 

त्यस क्षेत्रका तालहरूमा पानीको तापक्रम उच्च रहेका कारण डल्फिन र माछाहरू मरेको हुनसक्ने विज्ञहरूले विश्वास गरेका छन् । टेफे ताल क्षेत्रम गत सातायता तापक्रम बढेर ३९ डिग्री सेल्सियससम्म पुगेको छ । 

गत साता ब्राजिल सरकारको चिको मेन्डेस जैविक विविधता संरक्षण संस्थाले मृत डल्फिनको अनुसन्धान गर्न पशु चिकित्सक र जलचर स्तनधारी विज्ञहरूको टोली पठाएको थियो । 

टेफे तालमा करिब एक हजार चार सय डल्फिन रहेको मामिराउआ इन्स्टिच्युटका मिरियम मार्मोन्टेलले बताए । “एक हप्तामा करिब एक सय २० जीवजन्तु गुमाइसकेका छौँ जसले कूल सङ्ख्याको पाँचदेखि १० प्रतिशत हिस्सा प्रतिनिधित्व गर्छ”, उनले भने ।

सुक्खा खोलाहरूबाट खोला किनारका प्रभावित समुदायहरूले गत सातादेखि डल्फिनका शवहरू फेला पारेका छन् । खडेरीका कारण अमेजनका गभर्नर विल्सन लिमाले शुक्रबार सङ्कटकाल घोषणा गरेका थिए । 

करिब ६० हजार जनसङ्ख्या रहेको टेफे सहरका मेयर निक्सन मारिराले खोलाहरू सुकेका कारण केही पृथक समुदायलाई खाद्यान्न सिधै पुर्याउन नसकेको बताउनुभयो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै