• २०८१ बैशाख २० बिहीबार

कति भयो यस वर्षको मनसुनी वर्षा ?

kharibot

काठमाडौँ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा  सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ ।

विभागका मौसमविद् सुदर्शन हुमागाईले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए ।

उनले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो । त्यस्तै काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ ।  जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ ।

यस वर्ष छ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब आठ मिलिमिटर हो ।

मनसुन पूर्णरुपमा बाहिरिन अझै केही दिन लाग्ने

नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू–भाग भएर यही असोज १९ गते यस वर्षको मनसुन बाहिरिए पनि देशका अन्य भू–भागमा मौसम कायमै रहेको छ ।

बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक असर रहेकाले अझै एक-दुई दिन देशका कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार नेपालबाट मनसुन पूर्णरूपमा बाहिरिन अझै केही दिन लाग्नेछ ।

“देशको पूर्वी र मध्य भागमा मनसुन कायमै रहेकाले बदली र हल्का वर्षाको सम्भावना छ”, उनले भने । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख भए पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिएको हो । बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भएको न्यूनचापीय क्षेत्रको असरले मनसुन बहिर्गमनमा ढिलाइ भएको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात् जुन १४ तारिख (जेठ ३१ गते) मनसुन भित्रिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै