• २०८१ बैशाख १७ सोमबार

वर्षात्को पानी सङ्कलन र व्यवस्थापन आवश्यकः मन्त्री बस्नेत

kharibot

काठमाडौं।  ऊर्जा, सिँचाई तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेतले वर्षात्को पानी सङ्कलन र व्यवस्थापन गरी दिगो विकासका लक्ष्य हासिल गर्न सकिनेमा जोड दिएका छन् । 

आजदेखि ललितपुरमा सुरु ‘वर्षात्को पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने,  “जलवायु परिवर्तनका कारण पानीका परम्परागत स्रोत सुक्दै गएका छन् । त्यसैले आगामी दिनमा पानीको समस्या आउन नदिन वर्षाको पानी सङ्कलन र व्यवस्थापन आवश्यक छ ।”

उनले जलवायु परिवर्तनको बढ्दो समस्याले पानीको मुहान सुक्ने खतरा बढिरहेको भन्दै पानी स्रोत नै सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित नहुने बताए । उनले भने, “पानीको सहज उपलब्धता हुनुपर्नेमा दिगो विकासका लक्ष्यले जोड दिएको छ । पानीको उपलब्धता बढाउन वर्षात्को पानी सङ्कलन र व्यवस्थापनमा जोड दिनुपर्छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालि र नेदरल्याण्ड्स विकास नियोग संस्था (एसएनभी) नेपालको आयोजना र खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेष्टिङ् एलायन्सको समन्वयमा सम्मेलन सुरु भएको हो । सम्मेलन भोलिसम्म चल्नेछ सम्मेलनको सहआयोजकमा इन्टरनेशनल रेनवाटर हार्भेष्टिङ एलायन्स, वाटर एड नेपाल, नेपाल वाटर फर हेल्थ र डब्ल्युडब्ल्युएफ छन् ।

युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नगर विकास कोष, बायोग्यास सपोर्ट प्रोग्राम, हेल्भेटास नेपाल, नेपाल खुला विश्वविद्यालय, ग्लोबल पिस फाउण्डेशन, दियालो टेक्नोलोजिज, युथ एलायन्स इन्भाएरोमेन्ट  र बेष्ट पानीलगायत सङ्घसंस्थाले सम्मेलनलाई सहयोग गरेका छन् ।

जलवायु परिवर्तनको असरले पानीको अभाव हुनसक्ने भन्दै समयमै समस्याको पहिचान र समाधानमा लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिए । उनले पानी स्रोत संरक्षणमा पनि  जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

“नेपालमा आकाशे पानी सङ्कलन र व्यवस्थापनको राम्रो सम्भावना छ । पानीको सङ्कट निम्तिएमा मानव समुदाय, कृषि, तथा जैविक विविधता संरक्षणमा ठूलो असर पुग्छ”, उनले भने, “पानी अभावले हुनसक्ने सम्भावित जोखिम र असरबाट जोखिन सबैको पहल आवश्यक छ ।” 

त्यसअवसरमा पूर्वमन्त्री गणेश साहले पानीको स्रोत संरक्षण, व्यवस्थापन तथा आकाशे पानी सङ्कलन व्यवस्थापनमा जोड दिएका छन् । 

स्मार्ट वास सोलुसन्स् एवम् आयोजक समितिका अध्यक्ष ई रामदीप साहले पानी जीवनका लागि अत्यावश्यक भएको भन्दै पानीका मुहान संरक्षणको महत्वबार प्रकाश पारे । “जहाँ पानी प्रचूर मात्रामा उपलब्ध छ, त्यहाँ मानव सभ्यता विकास हुँदै गएको छ । भौतिक र औद्योगिक विकास बढ्दै गइरहेका छन्”, उनले भने, “जहाँ पानीको अभाव छ, ती स्थानहरु भौतिक र मानवीय विकासको सूचकाङ्कमा पछि परेका छन् ।” 

उनले जलवायु परिवर्तनका कारण नियमित वर्षामा भइरहेको अवरोधले पानीका परम्परागत स्रोतमा पनि प्रतिकुल असर परिरहेको र पानीका मूलहरु सुक्दै गएको बताए ।हिउँ पग्लने गति बढिरहेकोमा उनले चिन्ता जनाए ।

“एक अनुमानमा सन् २०५० सम्म विश्वका पाँच अर्ब ७० करोड मानिसहरुले वर्षमा एक महिना खानेपानीको पनि अभावको सामना गर्नुपर्ने उल्लेख छ”, साहले भने, “एकातिर पानीको अभावको भयावह स्थिति छ भने अर्कोतर्फ जलवायु परिवर्तनका कारण संसारभर वर्षाको प्रवृत्ति परिवर्तन भइरहेको छ ।”
उनले सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरुले ३१ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए ।

ती कार्यपत्रहरु वर्षात्को पानी सङ्कलन र व्यवस्थापनका नीति, नियमन र संस्थागत ढाँचा, सन् २०३० सम्म सबैका लागि स्वच्छ खानेपानी आपूर्ति गर्ने दिगो विकास लक्ष्यको सन्दर्भमा वर्षात्को पानीको उपयोगितालगायत विषयमा केन्द्रित हुने उनको भनाइ छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै