• २०८१ बैशाख १७ सोमबार

भरतपुर अस्पतालमा दसैँका दिन जन्मिए २० शिशु

kharibot

चितवन । सबैतिर दसैँको टीका लगाइरहँदा यहाँको भरतपुर अस्पतालमा २०  शिशुको जन्म भएको छ।  प्रसूतिका कारण टीका लगाउनसमेत छोडेर दुई चिकित्सकसहित दस स्वास्थ्यकर्मी खटिएका थिए । 

अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार दसैँको टीकाका दिन पनि चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाइकर्मी निरन्तर काममा खटिएका थिए । 

टीकाका दिन ६ जनाको शल्यक्रिया गरेर बच्चा झिकिएको थियो भने  अन्यको साधारण प्रसूतिबाटै बच्चा जन्मिएको थियो । युसैगरी नवमीका दिन २० जनाले बच्चा जन्माएकामा आठ जनाको शल्यक्रिया गरिएको थियो । 

अष्टमीका दिन १७ जनाले शिशु जन्माएकामा चार जनाको शल्यक्रिया गरिएको थियो । फूलपातीका दिन यो सङ्ख्या ३४ जना पुगेको थियो । तीमध्ये सात जनाको शल्यक्रिया गरिएको प्रमुख पोख्रेलले बताए ।

प्रसूति विभागमा खटिएका चिकित्सक, नर्सिङ् स्टाफ, सरसफाइकर्मीलगायत कर्मचारी चाडपर्व पनि नभनी निरन्तर काममा खटिएका उनको भनाइ थियो । काठमाडौँको  थापाथलीस्थित प्रसूतिगृह पछि सबैभन्दा धेरै सुत्केरी सेवा यही अस्पतालबाट लिने गरेका छन् । 

गत आर्थिक वर्षमा यो सङ्ख्या १२ हजार सात सय थियो । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ प्रसूति सेवाका लागि बिरामी आउने गर्दछन् । जिल्लामै पनि अन्य अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पन्न व्यक्तिले समेत प्रसूति सेवाका लागि भरतपुर अस्पताललाई रोज्ने गरेको प्रमुख पोख्रेलले जानकारी दिए । 

यो विभागमा १२ विशेषज्ञ चिकित्सक, २५ नर्सिङ स्टाफसहितको अनुभवी समूह परिचालित रहेकामा ३० वर्षभन्दा लामो समयदेखि प्रसूति गराउँदै आएका अनुभवी नर्सिङ स्टाफसमेत रहेका छन् । यस अस्पतालमा अन्य समयमा दैनिक ५० हाराहारी शिशु जन्मने गर्दछन् । तीमध्ये ४० प्रतिशतको शल्यक्रिया हुँदै आएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढेका कारण हाल रहेको सात शल्यक्रिया कक्ष बढाएर १५ वटा बनाइएको छ । प्रसूतिका लागि अलग्गै शल्यक्रिया कक्ष छ । चौबिसै घण्टा शल्यक्रिया चलिरहेको हुन्छ । मेडिकल कलेज र केही अस्पतालले बाहेक अन्य अस्पतालले नियमित प्रसूति सेवा नदिएकाले पनि भरतपुर अस्पतालमा चाप बढी भएको हो । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवाबाहेक अन्य सेवासमेत दसैँमा नियमित गरिएको बताए । अस्पतालमा छ घण्टा डायलासिस सेवा रोकिए पनि अन्य सेवा भने सञ्चालन भइरहेको उनले उल्लेख गरे । सुपरिटेन्डेन्ट प्रा डा पौडेललका अनुसार अस्पतालमा कार्यरत एक हजार ४५ चिकित्सक कर्मचारीमध्ये आधाले दसैँमा काम गरेका र तीमध्ये सबैभन्दा बढी नर्सिङ स्टाफ रहेका थिए ।

अस्पतालमा कार्यरत चार सय नर्समध्ये तीन सयले दसैँको बेलामा समेत काम गरेका छन् । त्यस्तै सरसफाइ र सुरक्षाकर्मी एक सय ९५ मध्ये एक सय ३८ तथा दुई सय चिकित्सकमध्ये एक सयले काम गरेका थिए । दसैँको समयमा बहिरङ्ग सेवा सञ्चालन नहुँदा अस्पताल आएका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा लिएका थिए ।

अस्पतालका बीमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार स्वास्थ्य बीमामार्फत् आकस्मिक सेवा लिने सेवाग्राहीको सङ्ख्या उल्लेख्य रहेको छ । उवनले भने, “दसैँको टीकाको दिन पनि हामीले बीमामार्फत् आकस्मिक र अन्य सेवा सहजै उपलब्ध गरायौँ ।”

यो सङ्घीय अस्पताल हो । यहाँ छ सय शय्या सञ्चालनमा छ । सङ्घीय अस्पताल भए पनि एक सय ५० शय्या बराबरको जनशक्ति सरकारले उपलब्ध गराएको छ भने अन्य जनशक्ति अस्पताल विकास समितिले व्यवस्थापन गर्दै आएको छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार राजधानी बाहिरबाट पनि बहिरङ्ग सेवामा सबैभन्दा धेरै बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । धेरै बिरामी आउँदा दैनिक झण्डै तीन हजार हाराहारी बिरामी यहाँ आउने गरेको उनले जानकारी दिए । 

सूचना अधिकारी पौडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रम र विशिष्टीकृत सेवाका कारण अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । गत आवमा तीन लाख सात हजार एक सय २१ जनाले बहिरङ्ग सेवा लिएका थिए । तीमध्ये ३१ हजार एक सय ३७ जना भर्ना भएर उपचार गराएका उनले जानकारी दिए । 

अस्पतालको शय्या ‘अकुपेन्सी’ ८१ प्रतिशत रहेको छ । बीमा कार्यक्रममा यो अस्पताल देशकै उत्कृष्ट रहेको छ । गत वर्ष कूल बहिरङ्ग सेवामा आएका तीन लाख सात हजार एक सय २१ मध्ये दुई लाख २१ हजार तीन सय ३१ जना स्वास्थ्य बीमा गरेका बिरामी थिए । अस्पताल आउनेमध्ये ७० प्रतिशतसम्म बिरामी स्वास्थ्य बीमा गरेका हुने गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै