• २०८१ बैशाख १७ सोमबार

बालगृहमा सामूहिक भाइटीका

kharibot

म्याग्दी । यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् । 

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो । 

बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताउनुभयो । म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ । 

बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको ब्यवस्था गर्ने पुनलाई धन्यवाद दिए ।

बालगृहमै भाइटीका

तनहुँको व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो बालगृहका बालबालिकाले भाइटीका लगाएका छन् । तिहारको पाँचौ दिन आज बालगृहमा रहेका बालबालिकाले भाइटीका लगाएका हुन् । 

बालगृहमा आश्रय लिइरहेका बालबालिकाले भाइटीका लगाएर तिहार मनाएका हुन् । बालगृहमा रहेका दुई बालिकाहरूले चार बालकलाई टीका लगाइदिएका थिए । 

तनहुँको भिमाद नगरपालिका–१ घर भएकी कुशा नेपाली र व्यास नगरपालिका–११ तनहुँसुर घर भएकी बर्मिला प्रजाले चार जना बालकलाई भाइटीका लगादिएकी थिइन् । ऋषिङ गाउँपालिका–१ काहुँशिवपुर घर भई बालगृहमा रहेका सुमन विकले तिहारको बेला भाइटीका लगाउन पाएकामा खुसी व्यक्त गरे । 

सुमनले भने, “तिहारमा कोसँग टीका लगाउने भन्ने चिन्ता रहेन, बालगृहमै टीका लगाउन पाउँदा खुसी लागेको छ ।” अभिभावकविहिन विकले बालगृहमा आश्रय लिँदै आएका छन् । बारा घर भई बालगृहमा रहेका शिव यादवले पनि दुई बालिकाको हातबाट भाइटीका लगाए । 

बालगृहमा रहेका बालबालिकाले हर्षोल्लासका साथ भाइटीका लगाएको बालगृहका अध्यक्ष सागर घिमिरेले जानकारी दिए । “दुई जना बालिकाले चार जनालाई बालकलाई भाइटीका लगाइदिएका छन्, तिहार मनाउन पाउँदा बालबालिका खुसी छन्,” उनले भने, “बालगृहमा रहेका बालबालिकाले प्रत्येक वर्ष यही भाइटीका मनाउँदै आएका छन् ।”

बालगृहमा रहेका छ जनामध्ये पाँच जना तनहुँ ठेगाना भएका र एक जना बारका हुन् । त्यसमध्ये पाँच जना अभिभावकविहिन हुन् भने एक जना विविध कारणले बालगृमा आइपुगेका हुन् । 

आफन्त गुमाएका बालबालिकाको संरक्षणका लागि विगत पाँच वर्षदेखि बालगृह सञ्चालन हुँदै आएको छ । बालगृह सञ्चालनका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट सहयोग हुँदै आएको छ । घिमिरेले भन्नुभयो, “बालगृह सञ्चालनका लागि सरकारी निकायबाट सहयोग छैन, विभिन्न सङ्घसंस्थाबाट सहयोग प्राप्त हुन्छ । व्यक्तिहरूले जन्मदिन, वैवाहिक वर्षगाँठको अवसरमा सहयोग प्रदान गर्नुहुन्छ । यसैबाट बालगृहको खर्च व्यवस्थापन हुँदै आएको छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै