• २०८१ जेठ १ मंगलबार

भारतमा अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग बन्द

kharibot

काठमाडौँ । भारतमा रहेको अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग स्थायी रूपमा बन्द गरिएको छ । नयाँ दिल्लीका लागि अफगानिस्तानका राजदूत फरीद मामुन्दजाईले शुक्रबार दुताबास तत्कालदेखि बन्द भएको जानकारी दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नयाँ दिल्लीस्थित अफगानिस्तानको दूतावास र कूटनीतिक नियोग तत्काल प्रभावबाट स्थायी रूपमा बन्द गरिएको जानकारी गराउँदा दुःख लागेको छ ।'

उनले अगाडी भनेका छन्- 'हामीले लगातार भारत सरकारबाट चुनौतीहरू सामना गरिरहेका थियौं । सेप्टेम्बर ३० मा हामीले दूतावासको सञ्चालन बन्द गर्‍यौं र दूतावासको बारेमा भारत सरकारको अडान परिवर्तन हुनेछ र इस्लामिक गणतन्त्र अफगानिस्तानको पक्षमा हुनेछ भन्ने आशा राखेका थियौं, तर पनि आठ साता कूटनीतिज्ञको भिसा अवधि थपिएको छैन न त भारत सरकारको अडानमा कुनै परिवर्तन आएको छ, यस्तो अवस्थामा तालिबान र भारत सरकारको बढ्दो दबाबबीच दूतावासले यस्तो कठिन निर्णय लिनु परेको हो ।'

उनले भारत सन् २००१ देखि अफगानिस्तान गणतन्त्रको रणनीतिक साझेदार रहेको र भूराजनीतिक रूपमा संवेदनशील क्षेत्रमा सन्तुलनको नीति अपनाउनु महत्त्वपूर्ण हुने र यस सम्बन्धमा भारतको आफ्नै सीमा र चासो रहेको बताए । उनले अहिलेको लागि दूतावास बन्द गर्ने र यो नै उपयुक्त निर्णय हो भन्ने विश्वास रहेको बताएका छन् ।

अफगानिस्तानमा सन् २०२१ मा तालिबान सत्तामा आएपछि अफगानिस्तानको नाम इस्लामिक रिपब्लिक अफ अफगानिस्तानबाट बदलेर इस्लामिक इमिरेट्स अफ अफगानिस्तान भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै