• २०८१ बैशाख १७ सोमबार

नक्कली भुटानी शरणार्थी प्रकरण: रिजाललाई धरौटीमा रिहा, रायमाझी थुनामै रहने

kharibot

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले शुक्रबार भुटानी शरणार्थी नेता रिजाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीसहित पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न अदालतले आदेश दिएको छ ।

सोही प्रकरणमा थुनामा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा न्यायाधीशहरूबीच मत बाझिएको बुझिएको छ । अब खाँणको विषयमा भने अब अर्को इजलासले निर्णय गर्ने भएको छ ।   

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी अधिकारी समेत संलग्न भएको भन्दै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो ।

उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि धुनामा पठाउने आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै