• २०८१ बैशाख १६ आइतबार

शम्भु–निर्मला विशिष्ट साधक सम्मान वरिष्ठ पत्रकार रिसाललाई

kharibot

काठमाडौं। नेपाली भाषा, साहित्य, इतिहास, दर्शनशास्त्र, समाजशास्त्र, गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान दिने दीर्घसाधकलाई प्रदान गरिने ‘शम्भु–निर्मला विशिष्ट साधक सम्मान’ यस वर्ष वरिष्ठ पत्रकार भैरव रिसाललाई दिइने भएको छ ।

वरिष्ठ स्रष्टा एवं गायक शम्भुकुमार मिलन र उहाँकी जीवनसँगिनी निर्मला रेग्मीको नाममा स्थापित शम्भु–निर्मला कला–साहित्य समाजले यस वर्षदेखि प्रदान गर्ने सो सम्मानबाट पहिलोपटक रिसाललाई रु २१ हजार राशीसहित सम्मानित गर्न लागिएको समाजका अध्यक्ष प्रा डा देवी नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विसं १९८५ साउन २९ गते भक्तपुरको ताथलीमा जन्मिएर संस्कृतमा आचार्य गरी पत्रकारिता, साहित्य लेखन, समाजसेवा र नेपालको आधिकारिक इतिहासको खोजी कार्यमा सक्रिय रिसालका ‘साधुलाई शूली’ (जेलडायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’, ‘सुशीला भैरव’ (सहलेखन), ‘छानिएका रचना’, ‘उहिलेको नेपाल’लगायतका निबन्ध, संस्मरण तथा इतिहाससँग सम्बन्धित विभिन्न कृतिहरू प्रकाशित छन् । 

राससका पूर्व प्रमुख समाचारदाता ९६ वर्षीय रिसालले विभिन्न लेख तथा अन्तर्वार्तामार्फत नेपालको आधिकारिक सिमाना तथा ऐतिहासिक तथ्यहरूका बारेमा स्पष्ट जानकारी दिँदै आएका छन् । समाजले शम्भुकुमार मिलन स्मृतिग्रन्थ पनि प्रकाशनको तयारी गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै