• २०८१ बैशाख १६ आइतबार

काठमाडौँ महानगर प्रहरीले सुर्तीजन्य पदार्थ बेचबिखनको मुख्य चोकहरुमा निगरानी गर्ने

kharibot

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आजदेखि शहरका पसलहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन भएनभएको निगरानी गर्न जनशक्ति परिचालन गरेको बताएको छ ।

कोटेश्वर, बालाजु, महाराजगञ्ज, चावहिल र गौशाला क्षेत्रमा महानगर प्रहरीले लुकाएर बिक्री गरिरहेका पसलहरुमा गएर पहिलो पटकलाई सचेत गराईरहेको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले बताए । पहिलो दिन भएकाले महानगर प्रहरीले व्यापारीहरुलाई सचेत गराउँदै हिँडिरहेको तर बिक्री वितरणमा भने पूर्ण निगरानी राखिएको विभाग प्रमुख पौडेलले नेपाल न्यूज बैंकसँग बताए ।

महानगरले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर परेको, प्रदूषण र शहरमा बढ्दो दृश्य प्रदूषण रोक्न काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती, खैनी, गुट्टका, सुर्तीहरूको बिक्रवितरणमा आजदेखि प्रतिबन्धको घोषणा गरेको छ ।

बुधबार पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले मङ्सिर २८ गतेदेखि काठमाडौँ भित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध गरिएको जानकारी गराएका थिए । आज मङ्सिर २८ गतेपछि काठमाडौँमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने उनले  बताएका थिए । महानगरले पसलमा यस्ता पदार्थ बेचेको पाइए दुई पटक सम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिएको छ ।

महानगरले अनुगमनको लागि महानगरपालिकाले सादा पोसाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाएको छ भने पहिलो चरणमा अनुगमनको लागि ५० जना नगर प्रहरी परिचालन गरेको जनाएको छ । महानगरले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धूम्रपान गर्न पनि प्रतिबन्ध लगाएको छ ।

सार्वजनिक स्थलमा धूम्रपान गरेको पाइए १ सय रुपैयाँसम्म जरिवाना गर्ने यसअघिको निर्णय कार्यान्वयनमा पनि कडाइ गरिने महानगरले चेतावनी दिएको छ ।

जनस्वास्थ्यमा परेको प्रतिकुल प्रभाव रोक्न, शहरी सौदर्य कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको महानगरको भनाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय