• २०८१ बैशाख १६ आइतबार

एउटै वडाको सेवा दुई ठाउँबाट

kharibot

वालिङ (स्याङ्जा)।  स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट सेवा दिँदै आइएको हो ।

वडाका सबैलाई पायकपर्ने ठाउँमा वडा कार्यालय नभएपछि वडावासीको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालले बताए । साविकको ढापुक सिमलभञ्ज्याङ गाविस सिङ्गैबाट बनेको ८ नं वडा भौगोलिक हिसाबले विकट तथा नगरपालिकाबाट टाढा भएकाले वडाबासीको पहलमा दुई ठाउँमा कार्यालय स्थापना गरी सेवा दिइएको उनले बताए ।

“हप्तामा छ दिन कार्यालयबाट सेवा प्रवाह हुने भएकाले तीन दिन एउटा कार्यालयबाट र तीन दिन अर्को कार्यालयबाट सेवा दिँदै आएका छौँ”, खनालले भने, “आइतबारदेखि मङ्गलबार ढापुक जामुनेडाँडा वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिँदै आएका छौँ ।”

वडाध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको पहिलो तीन दिन ढापुक जामुनेडाँडामा जाने र पछिल्लो तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गई सेवा प्रवाह गर्दै आएका छन् । सुरुका दिनमा केही अन्योलतामा भए पनि अहिले भने सेवाग्राहीलाई पूर्ण जानकारी भइसकेको वडाध्यक्ष खनालले बताए । “नभइ नहुने अत्यावश्यक सेवा, सिफारिस लगायतका कामका लागि दुईमध्ये जुनसुकै कार्यालयबाट लिन पाइयो”, उनले भने ।

वडा कार्यालयले दुई ठाउँमै भवन निर्माण गरी कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरेको छ । दुई ठाउँबाट सेवा पाउने भएपछि लामो समय खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । उक्त वडामा हाल चार हजार सात सय  नागरिक बस्दै आएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै