• २०८१ बैशाख १९ बुधबार

काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु

kharibot

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ ।

पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ । 

पनौती नगरका १२ वटै वडामा एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो । पनौती–७ ढोकाफल पाटीमा आयोजित कार्यक्रममा पनौतीका नगरप्रमुख रामशरण भण्डारी र वडाध्यक्ष सविनकुमार ताम्राकारले ज्येष्ठ नागरिकलाई बिरामी पुर्जा दिएर कार्यक्रमको सुरुआत गरिएको थियो ।

कार्यक्रममा भण्डारीले ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने बताए । 

उनले ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न अनुरोध गरे । 

‘ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण घरघरमा तथा टोलटोलमा’ भन्ने नीति तथा कार्यक्रमअन्तर्गत प्रारम्भ भएको यस कार्यक्रमअन्तर्गत मङ्गलबार पनौती स्वास्थ्य चौकीले ६२ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै ल्याब परीक्षण गरेको छ ।

यस्तै बल्थली स्वास्थ्य चौकीले ३३, मल्पी स्वास्थ्य चौकीले ३३ ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । कार्यक्रम पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नगर स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले कार्यक्रम सबै वडामा प्रारम्भ भइसकेको र ज्येष्ठ नागरिकले सेवा लिँदा खुसी पाइएको बताए ।

उनका अनुसार गत आर्थिक वर्षमा तीन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो । यस वर्षको कार्यक्रममा आवश्यकतानुसार थप औषधिको समेत व्यवस्था गरिएको तिमल्सिनाले बताए ।

शाखाका अनुसार नगरले ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षणसँगै प्रत्येक महिना दुईपटक मानसिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । महिनाको पहिलो शनिबार कुशादेवी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा यो क्लिनिक सञ्चालन गर्ने गरिएको छ । 

यसैबीच बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई  आजदेखि कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ । आवश्यकता पहिचान गरिएका ६० बर्षभन्दा माथिका स्थानीय नागरिकको निःशुल्क दाँत राख्न लागिएको नगरले जनाएको हो । 

नगरले दाँत नभएका नागरिकको पहिचानका लागि आजदेखि १४ वटै वडामा दन्त शिविर सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

समाज डेन्टल केयर र सुप्रिम डेन्टल केयरको प्राविधिक सहयोगमा हुने शिविरबाट छनोट भएका सबैलाई निःशुल्क दाँत राखिदिने योजना बनाइएको नगरका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईँले बताए । 

शिविरबाट लागत अनुमान गरी सोहीअनुसार कोटेशन÷बोलपत्र आह्वान गरी कार्यक्रम गरिने जनाइएको छ । “जेष्ठ नागरिकको सम्मानको लागि यस किसिमको कार्यक्रम गर्न लागेका हौँ”, नगर प्रमुख शान्तिरत्न शाक्यले भने ।

उनका अनुसार कार्यक्रमले नगरका ६० वर्षभन्दा माथिका नागरिकमा खुसी देखिने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै