• २०८१ बैशाख २९ शनिबार

युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी

kharibot

जेनेभा ।  गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन् । 

गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् । 

प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की विशेष प्रतिनिधि लुसिया एल्मीले जेरुसेलमबाट भिडियो लिङ्कमार्फत आयोजित पत्रकार सम्मेलनमा आफू गाजामा एक हप्ता बिताएर भर्खरै फर्केको बताइन् ।  गाजाको पछिल्लो स्थितिले आफूलाइै निकै दुःखी बनाएको बताउँदै उनले भनिन्, “हजारौं बालबालिकाको मृत्यु भइसकेको र तीनवटा अत्यावश्यक समस्या तत्काल सम्बोधन नगरिए अझै हजारौं बालबालिकाले ज्यान गुम्ने जोखिम रहेको छ ।” 

बमबारीबाट पीडितका लागि राहतको व्यवस्था गर्न सुरक्षा, सहायता वितरणको लागि रसद, र व्यावसायिक क्षेत्रको पुनः सञ्चालन आवश्यक छ । एल्मीले पत्रकारहरूसँग कुरा गर्दै विगत दुई हप्तामा मात्र गाजामा बालबालिकामा झाडापखालाका घटनाहरु झण्डै दोब्बर भएर ७० हजार पुगेको बताइन् । 

करिब एक लाख ३५ हजार बालबालिका पनि गम्भीर कुपोषणको जोखिममा छन् । उहाँले तत्काल र दीर्घकालीन युद्धविराम नै बालबालिका र परिवारको हत्या र घाइतेको अन्त्य गर्ने एक मात्र उपाय भएको र अति आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरिन् ।

एल्मीले गाजा पट्टीमा प्रवेश गर्ने सबै नाकाहरू पुनः खोल्नुपर्ने, सहायताका लागि अनुमोदन प्रक्रिया छिटो हुनुपर्ने, विद्यालय र अस्पतालजस्ता नागरिक पूर्वाधारको संरक्षण गरिनुपर्ने र गाजा पट्टीको उत्तरमा पहुँच प्रदान गर्नुपर्ने बताएकी छन् ।

अपहरणमा परेका बालबालिकासहित विभिन्न देशका नागरिकलाई पनि बिनाशर्त र सकुशल रिहा गरिनुपर्छ । 

हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहले इजरायलमाथि आक्रमण गरेको यो आइतबार १०० दिन पुगेको छ । अहिलेसम्म एक हजार २०० इजरायली मारिएका छन् भने करिब २५० जनालाई बन्धक बनाइएकोमा १०० भन्दा बढीलाई रिहाई गरिएको छ । इजरायलले सैन्य कारबाही सुरु गरेयता १४ हप्तामा २३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमध्ये करिब दुई तिहाइ महिला र बालबालिका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै