• २०८१ बैशाख २६ बुधबार

जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

kharibot

सुर्खेत । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्य भोगिरहेका किसानहरुका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका बिभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । 

किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरि आर्थिक रुपमा सक्षम बनाउका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ ।  सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरु अब सेलार स्थापनासँगै खुसी भएका छन् ।

सुन्तला  सेलार स्टोरमा राखेर  फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश बिक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना, परियोजना कार्यान्वन इकाइ कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा  सुन्तला जम्म गरि सुरक्षित राखेमा चैत महिना गर्मी याममा राम्रो आम्दानी गर्न सकिने उनले बताए । 

गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समय सम्मा सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्य हुने गर्दछ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उदेश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए ।  

कुशे गाउँपालिका–५,७ र ८ ,छेडागाड नगरपालिका–१०र १२, नलगाड नगरपालिका– ३ मा सेलार स्थापना भएका हुन् । यि क्षेत्रमा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरु बजारमा ल्याइ बिक्री वितरण गरि आर्थिक रुपमा बलियो बन्नु रहेको छ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्य हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।

प्रतिसेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार ३३३ रुपैयाँ  र कृषकले ५ लाख ६१ हजार ६६७ रुपैयाँ ब्यहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ वटा ठाउँ यही तरिकाले अनुदान उपलब्ध गराएको छ ।

किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टमा लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुका साथै सस्तोमा बिक्री गर्दा आर्थिक रुपमा ठुलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरि उचित समयमा बिक्री गर्न सकिने उनले बताए ।

५ मेट्रिक टन क्षमताको रहेका सेलारहरुमा ६ महिना सम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । त्यस्तै सुन्तलालाई हुकाउन तथा बढाउनका साथै प्राविद्यिक सल्लाह समेत दिने गरिएको छ । त्यस्तै बिभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत पुगेको ठाउँमा विद्युतबाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको छ । 

परियोजनाका अनुसार किसानको मागहरु प्रत्येक वर्ष नयाँ, नयाँ सेलारहरु स्थापना गर्दै जाने योजना रहेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग , काटछाट तथा औषधि दिने सम्मको प्राविद्यिक कुराहरु दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए । परियोजना लागू भएको ठाउँमा किसानको माग अनुसार प्राविद्यिक खटिएर सहयोग गदै आएको उनको भनाई छ । 

खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरुले राम्रो आम्दानी गर्दै आएका छन् । वर्षेनी लाखौको सुन्तला बिक्री हुँदै आएको कुशे ५ दम्दालाका दिपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ । आफ्नै गाडी भएकाले माग अनुसार बिभिन्न ठाउँमा लिएर बिक्री हुँदै आएको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै