• २०८१ बैशाख १५ शनिबार

एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गरेकी मनिषा

kharibot

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच  परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकीछन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् । 

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छन् ।

उनले भनिन्, “सानैदेखि  नर्सिङ विषय पढ्ने रहर थियो  ।  छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन् । उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन् । “ स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।” उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन् ।

उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्दै छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै