• २०८१ बैशाख १५ शनिबार

सेयर बजार घट्यो

kharibot

काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.२४ अंकले घटेर बन्द भएको छ ।

०.३३ प्रतिशतको गिरावटसँगै परिसूचक २१५५ अंकमा आएर रोकिएको छ । आज परिसूचक २१६३ अंकबाट सुरु भएको थियो ।

कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक कारोबार अवधिमा एक–दुई पटक बढ्ने प्रयास गरेको थियो । साढे २ आसपास परिसूचक बढेर २१६७ अंकमा पुगे पनि त्यसयता निरन्तर घटेर ०.३३ प्रतिशतको गिरावटसँगै बन्द भएको हो ।

यस क्रममा आज ११२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३३ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर कायम छ । परिसूचक घटे पनि उच्च कारोबारको क्रमले भने निरन्तर पाएको छ । यससँगै, लगातार तेस्रो दिन नेप्सेमा ८ अर्बभन्दा धेरैको कारोबार भएको छ ।

८ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा २ करोड ११ लाखभन्दा धेरै कित्ता सेयर किनबेच भएको छ । यो साता ४ दिन कारोबार भएको नेप्सेमा सुरुको दुई दिन बढेको थियो । तर, बुधवार र बिहीबार भने लगातार घटेको हो । सेयर बजारमा ‘प्रफिट बुक’ गर्न ‘ट्रेडर’ हाबी भएसँगै परिसूचक ओरालो यात्रामा लागेको हो ।

आज चार कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लागेको छ । रिदि पावर, सिनर्जी पावर विकास, माहुलि लघुवित्त र गणपति लघुवित्तका सेयरमा १० प्रतिशत वृद्धि आएको हो । यसबाहेक, सीईडीबी हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ ।

परिसूचक घटे पनि ३ समूहको सूचकमा भने वृद्धि आएको छ । अन्य समूह २२ अंकले बढ्दा जलविद्युत समूह २१ अंक र वित्त समूह ३ अंकले बढेको छ ।

यसबाहेक, निर्जीवन बीमा कम्पनी समूहको सूचक १२७ अंकले घट्दा होटल र टुरिजम समूहमा ७९ अंकको गिरावट आएको छ । यस्तै, उत्पादनमूलक समूह ७७ अंकले घटेको छ भने जीवन बीमा समूहमा ५७ अंकको गिरावट देखा परेको छ ।

दोस्रो बजारमा सेयर सूचीकृत भएदेखि निरन्तर बढेको हिमालयन रिइन्स्योरेन्सको सेयर आज सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको १ अर्ब ८४ करोड ४२ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको हो । यसपछि, सोनापुर मिनरल्स एण्ड ओयलको ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै