• २०८१ बैशाख १७ सोमबार

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

kharibot

काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।

नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए ।

मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे ।

“हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ । ती सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौँ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔँ”, उनले भने, “ कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया

छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”

नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए । 

गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहन्छ भने ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे ।

साथै उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए ।

कार्यक्रममा कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताए ।

यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताए ।

राजदूत पार्कले भने, “यो ऐतिहासिक कोसेढुङ्गामा पुग्नुभएकामा म दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन गर्दछु । यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण हो, जसले सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन अथक प्रयास गरेका छन् ।”

सो अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औँ वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि  मालिक बन्न सक्नुहुन्छ’को विमोचन गरेका थिए ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै