• २०८१ बैशाख १६ आइतबार

यातायात सुधार सुझाव कार्यदलले एक वर्षपछि बुझायो प्रतिवेदन

kharibot

काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ ।

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहीबार कार्यदलले मन्त्री ज्वालालाई प्रतिवेदन बुझाएको हो । गत वर्ष माघ ११ गते मन्त्रीस्तरीय निर्णयबाट यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले एक वर्षपछि मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलको प्रतिवेदन बुझ्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले विभिन्न विषयको अध्ययन अनुसन्धान र सुझावको लागि समितिहरु बनाउने तर कार्यदलले लिएको सुझाव दराजमा थन्काउने परम्परा रहेको भन्दै प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । उनले मुलुकको यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि राम्रो प्रतिवेदन बनेकाले त्यहीअनुसार कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिए ।

मन्त्री ज्वालाले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गर्ने र त्यसको अध्ययन मन्त्रालय र यातायात व्यवस्था विभाग लाग्ने जनाए । उनले प्रतिवेदन अध्ययन गरेर कसरी कार्यान्वयमा लैजानका लागि कार्ययोजना बनाउने प्रतिबद्धता जनाए । उनले सरकार सार्वजनिक सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्ने विधेयक अगाडि बढाउन लागेको पनि जानकारी दिए । उनले विधेयकको ड्राफ्ट तयार भइसकेको पनि जनाए । कार्यदलले दिएको प्रतिवेदनले राष्ट्रिय यातायात नीति र सार्वजनिक सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐनलाई समयअनुकूल बनाउन सहयोग मिल्ने मन्त्री ज्वालाको भनाइ छ ।

कार्यक्रममा मन्त्रालयमा सचिव केशवकुमार शर्माले नेपालको यातायात क्षेत्रमा यातायात व्यवसायीहरुले गरेको भूमिका महत्त्वपूर्ण रहेको दाबी गरे । उनले नेपालको सार्वजनिक यातायात क्षेत्रमा राज्यले लगानी गर्नुपर्ने अवस्था नभएको बताए । विगतमा सार्वजनिक यातायात सरकारले सञ्चालन गर्दा राम्रो नभएको स्मरण गर्दै सुखद् अवस्था नभएको शर्माको भनाइ छ । सरकारको नीति पनि सार्वजनिक यातायात क्षेत्र निजी क्षेत्रबाटै सञ्चालन गर्ने नीति लिएको दाबी गर्दै उनले अब निजी क्षेत्र र सरकारको सहकार्यमा यातायात क्षेत्रलाई प्रविधिमैत्री र डिजिटलाइज बनाउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यदलले वर्तमान सार्वजनिक यातायात क्षेत्रका समस्या र यात्रुमैत्री सार्वजनिक यातायात क्षेत्र बनाउने गरी प्रतिवेदन आएको कार्यदलका सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए । उनले सार्वजनिक यातायातलाई दीर्घकालीन रुपमा यात्रुमैत्री कसरी बनाउने भन्ने विषय समेटिएको भन्दै सरकारले कार्यान्वयन गर्न आवश्यक रहेको जनाए ।

मुलुकको सार्वजनिक यातायात क्षेत्र सुधारका लागि प्रतिवेदनलाई सरकारले गम्भीरतासाथ लागु गर्न आवश्यक रहेको स्वाँरको सुझाव छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै