• २०८१ बैशाख १६ आइतबार

भोजपुरको दुर्गम भेग हतुवागढीको बारीगाउँमा बिजुली

kharibot

टक्सार (भोजपुर)। बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । 

रामबहादुर भनछन्, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म चाहेर पनि हाम्रो गाउँमा विद्युत्को पहुँच पुगेको थिएन ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भोजपुरअन्तर्गतको हतुवागढी घोडेटार फ्युज सेवाले वडा नं ८ को पात्लेपानी, विद्यापोखरी, रोक्ताङ हुँदै बारीगाउँसम्म ११ केभी प्रसारण लाइनबाट विद्युत् सेवा पुर्‍याएको हो ।

विद्युत्को पहुँच पुगेसँगै त्यहाँका ६९ घर अहिले झिलिमिली भएको छ । मट्टितेलको टुकी बालेर जीवन बिताउन बाध्य गाउँलेको गाउँमा बिजुली आउँला भन्ने सपना अहिले आएर पूरा भएको वडाध्यक्ष प्रेम थापाले बताए ।

उनले भने, “दुर्गम गाउँपालिकाका धेरै वडाका जनता अँध्यारोमा बस्न बाध्य हुनुहुन्छ, तर अहिले गाउँमा पनि बिजुली पुग्न थालेकामा यहाँका जनतामा खुसी छाएको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् प्राधिकरण र ठेकेदारमार्फत विद्युतीकरणको क्रम चलिरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले बताए ।

उनले भने, “जिल्लाभित्रका नौवटै स्थानीय तहमा विद्युत्को पहुँच पु¥याउन प्राधिकरणले काम गरिरहेको छ ।”

स्थानीय उत्पादनमा रहेको सिक्तेल खोला जलविद्युत् आयोजनाबाट भोजपुर सदरमुकाम र आसपासका करिब एक हजार चार सय घर परिवारमा मात्र विद्युत् सेवा पुगेकामा विसं २०६७ कात्तिक महिनाबाट विद्युत् प्राधिकरणको शाखा भोजपुरमा स्थापना भएसँगै विद्युतीकरणको काम सुरु भएको थियो । भोजपुरमा हाल निजीस्तरका दुई वटा हाइड्रोपावर सञ्चालनमा रहेका छन् । 

भोजपुरमा हाल ८५ प्रतिशत विद्युतीकरण भइसकेको छ भने जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो र दक्षिणमा रहेको आमचोक गाउँपालिका क्षेत्रमा विद्युतीकरणको काम बाँकी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार अहिलेसम्म २४ हजार बढी घरधुरीमा विद्युत्को पहुँच पुगिसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै