• २०८१ बैशाख १५ शनिबार

युवा विदेश पलायन हुँदा भेडापालन पेसा सङ्कटमा

kharibot

रुकुम। रुकुमपूर्वको तकसेराका करबहादुर बुढा यतिबेला भेडा लिएर रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ को ठूलीदहमा पुगेका छन् ।

कात्तिक लागेसँगै पाटनबाट झरेका भेडा ठूलीदहमा छन् । करबहादुरसँगै तीन घरपरिवारले ठूलीदहमा भेडा ल्याएर बसेका हुन् । रुकुमपूर्वको मगर समुदायको मुख्य पेसा भनेकै भडापालन हो । 

करबहादुरले १५ वर्षको उमेरमा आफ्नो बाजेसँगै भेडा गोठालो जाने गरेको बताए ।

उनको बाजेपछि बुवाले भेडा पाले । भेडाको बथान लिएर दाङ र सुर्खेतसम्म पनि झर्नुभयो । बाजे, बुवाले धानेको पेसा अहिले करबहादुरले धानेका छन् । 

करबहादुरका छोरा अहिले गाउँमा छैनन् । छोराहरुले बाजे र बुवाले गरेको पेसा छाड्दै गएका उनले बताए ।

आफू १५ वर्षको हुँदा बाजेसँग भेडा गोठालो गएको भए पनि छोराहरु आफूसँग कहिले गोठालो नगएका करबहादुरको भनाइ थियो । “कुनै समय १५ सय भेडा हुन्थे । अहिले मुस्किलले चार सय छन्”, उनले भने ।

युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यहाँको मगर समुदायको भेडापालन पेसा लोभ हुने हो कि भन्ने चिन्ता जेष्ठ नागरिकलाई छ । “हाम्रा बाजे, बाले सुर्खेत, दाङसम्म भेडा झार्थ ।

त्यहीबाट च्याङ्ग्रालाई नुन, चामल बोकाएर वैशाख, जेठमा फेरि पाटनतिर फर्किन्थ । अहिले हामीले मुस्किलले यहाँसम्म ल्याएर आएका छौँ । छोरा कोही सहर त कोही विदेश गएका छन्”, उनले भने, “अबका युवाले हामीले धानेको यो पेसा छाड्दै गएका छन् ।” 

तकरसेराका तेजमाया बुढा पनि भेडा लिएर ठूलीदह पुगेका छन् । उनको छोरा पढाइ गर्न भर्खरै अमेरीका गए ।

उनि पनि सानै उमेरदेखि भेडा गोठालो जाने, पाटनमा रमाउन सिके । अहिले पनि भेडा पालन व्यवसाय छोड्न सकेका छैनन् । 

“कात्तिकमा ढोरपाटन पाटनमा रहेका भेडा रोल्पाको थवाङ हुँदै यहाँ ल्याएका हाँै । सधैँ म भेडाको पछिपछि हिँड्छु । छोराछोरी भेडाको गोठालो गर्न मान्दैनन् । मेरो छोरो भर्खर पढन् भनेर अमेरीका गएको छ”, तेजमाया भनिन् । भेडापालनबाट मनग्य आम्दानी नभए पनि आफ्नो गुजारा चलाउन सकिने उनको भनाइ छ । 

“भेडाहरु छुट्टै बिक्री गर्ने भन्ने हँुदैन । भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ । त्यही सामग्री बचेर आम्दानी गर्ने गरेका छौँ”, तेजकुमारीले भनिन्, “कुनै समय तरसेराबाट १५ घरपरिवार भेडा लिएर रुकुमपश्चिमको ठूलीदहसम्म पुग्ने गर्दथ्यो । अहिले भने तीन घरपरिवार मात्रै भेडा लिएर ठूलीदह आएका छन् ।” 

अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोभ हुने चिन्ता भेडापालक किसानको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । 

भेडापालनका लागि फर्म दर्ता गरेको भए पनि किसानले व्यावसायिकरुपमा भेडापालन नगरेको कलम बुढाको भनाइ छ । “सरकारले भेडापालन व्यवसायलाई व्यवस्थित गर्ने भनेको छ । किसानले परम्परागत शैलीमा भेडापालन गर्दै आएका छन्”, उनले भने । 

अहिले पनि भेडालाई जङ्गल डुलाउने, रैथाने जातका पालन गर्ने, भेडाको ऊन काट्दा परम्परागत औजारको प्रयोग गरेको पाइन्छ ।
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै