• २०८१ बैशाख १६ आइतबार

अफगानी स्पिनर नूर अहमदलाई आइएल टी-२० मा १२ महिनाको प्रतिबन्ध

kharibot

काठमाडौँ । अफगानिस्तानका स्पिनर नूर अहमदलाई अन्तर्राष्ट्रिय लिग टी–२० (आइएल टी-२०) बाट १२ महिनाको प्रतिबन्ध लगाइएको छ । उनलाई लिगको सम्झौता उल्लङ्घन गरेको भन्दै प्रतिबन्ध लगाइएको हो ।

१९ वर्षीय नूरले लिगको दोस्रो सिजनका लागि शारजाह वारियर्सको रिटेन्सन नोटिसमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । नूरले आइएल टी-२० को यस बर्षको सिजनमा पनि भाग लिएनन् । यस्तो अवस्थामा लिगको अनुशासन समितिले उनलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

शारजाह वारियर्सले इन्टरनेशनल लिग टी–२० को पहिलो सिजनका लागि नूर अहमदलाई अनुबन्ध गरेको थियो । फ्रान्चाइजीले नूरलाई अर्को वर्षको लागि सम्झौता विस्तारको प्रस्ताव गरेको थियो, तर अफगान खेलाडीले सिजन २ को लागि रिटेन्सन नोटिसमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

यस्तो अवस्थामा फ्रेन्चाइजले खेलाडीको बारेमा अनुशासन समितिमा निवेदन गरेको थियो । लिगको तीन सदस्यीय अनुशासन समितिले २० महिनाको लागि प्रतिबन्ध लगाउने सिफारिस गरेको थियो ।

इमिरेट्स क्रिकेट बोर्डले यस विषयमा छानबिन गरी दुवै पक्षलाई छुट्टाछुट्टै सुनेका थिए । नूर र शारजाह वारियर्स र उनीहरूका सामु प्रमाणहरू जाँच गरेपछि, उनीहरूले नूरलाई १२ महिनाको लागि प्रतिबन्ध गर्ने अन्तिम निर्णय दिएका थिए ।

दुबईमा केहि दिनअघि सम्पन्न आइएल टी-२० को दोस्रो सिजनको उपाधी मुम्बई इमिरेट्सले जितेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै