• २०८१ बैशाख २९ शनिबार

कांग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

kharibot

काठमाडौँ । धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्तावले नेपाली कांग्रेसको महासमिति बैठकमा प्रवेश पाएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी कांग्रेस महासमिति बैठकमा अभियानका संयोजक शङ्कर भण्डारीले हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । 

महासमिति बैठकको पहिलो दिन देखि नै सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो । भण्डारीले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए ।

हिन्दू राष्ट्रसम्बन्धी प्रस्तावमा अन्तिम दिनसम्म एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानले जानकारी दिएको छ ।

विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले कांग्रेसभित्रका विभिन्न बैठकहरुमा हिन्दू राष्ट्रको विषय गहन ढङ्गले उठाउँदै आएको छ । यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौँमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।

केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको हो । उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव छन् । यस्तै, पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै