• २०८१ बैशाख १६ आइतबार

खडेरीका कारण हिउँदे बाली प्रभावित

kharibot

पर्वत। लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बाली प्रभावित बनेका छन् । 

झण्डै पाँच महिनासम्म वर्षा नहुँदा जिल्लाका किसानले लगाएको बाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दा करोडौको नोक्सानी पुग्ने अवस्था देखिएको छ । 

कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरीलगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । 

पर्वतमा यतिवेला खेतमा मकैवाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्न समेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । 

व्यावसायिक तरकारी खेती गरेका कृषकसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । लामो समयको खडेरीले कृषकलाई ठूलो समस्या परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए ।

खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उहाँले बताउनुभयो । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन । 

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेष गरी हिउँदे बालीनालीमा खडेरीले असर पुराएको छ ।

सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीले बताए ।

उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । “सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ”, अधिकारीले भने ।

कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले यो बेलामा जमिनको आँत भिज्ने गरी वर्षा भइदिने हो भने अब लगाउने बालीनालीमा धेरै सहयोग हुने बताए ।

चिस्यानबिना जोतिएका खेतमा डल्ला आउने र डल्लामा परेको मकै नउम्रिने भएकाले उत्पादनमा ह्रास आउन सक्ने उनको भनाइ छ ।

पर्वतमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेले ठूलो नोक्सानी व्यहोर्नुपरेको केन्द्रले जनाएको छ ।

तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उहाँको अनुमान छ । त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषक मारमा परेका छन् । 

उनका अनुसार जिल्लाको पातीचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ ।

कतिपय ठाउँमा बालीनालीनै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनालीनै सखाप भएपछि कृषकसमेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकले गुनासो गरेका छन् । 

जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमा समेत पानी बन्द हुँदा झनै समस्या भएको छ ।

सानातिना मूलको भरमा खेतीपानी गर्दै आएका कृषक खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए ।

उनले भने, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्यामा भएको छ ।” 

यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रको अनुमान छ । 

 


 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै