• २०८१ बैशाख १५ शनिबार

डोलेश्वरमा महाशिवरात्रि मेलाको तयारी पूरा

kharibot

भक्तपुर।  भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । 

डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज महाशिवरात्रि पर्वको तयारीबारे सञ्चारकर्मीलाई जानकारी दिएको छ । सो अवसरमा महाशिवरात्रि पर्वमा डोलेश्वरमा साधु, सन्त तथा दर्शनार्थीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।

महाविशरात्रि पर्वका लागि भारतका विभिन्न ठाउँबाट डोलेश्वरमा हालसम्म दुई सय ५० भन्दा बढी साधुसन्त आइपुगेका समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

महाशिवरात्रिमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीलाई बिहान ४ बजेदेखि नै मन्दिरको चारवटै ढोकाबाट प्रवेश गराइ सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए । 

मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छन् । अरुदिन  मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले भित्र प्रवेश गरी डोलेश्वरमा सहजै पूजाअर्चना गर्न पाउने छन् ।

यस वर्ष करिब ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको समितिका महासचिव बस्नेतले जानकारी दिए । महाशिवरात्रि पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था गरिएको छ । 

साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च रु सात सय ५० प्रदान गरेर बिदाई गरिने उनले बताए । 

दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादकोव्यवस्था गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी तथा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले धुनि जगाउन दाउराको व्यवस्था गरिएको छ ।

दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै